भीष्मराज ओझा : काठमाडौँ, १० कात्तिक / अतिथि एवं मान्यजनको सम्मान र स्वागतमा लगाइने ‘पोलिष्टर खादा’को प्रयोगपछि उचित व्यवस्थापन हुन नसक्दा प्रदुषणको कारण बन्दै गएको छ ।
पोलिष्टरको खादा सहजै र सुपथ मूल्यमा उपलब्ध हुने भएकाले विशिष्ट कार्यक्रमदेखि समान्य घरायसी कार्यक्रमसम्म यसको प्रयोग संस्कृतिका रूपमा विकसित हँुदै गएको छ । यस्ता खादा नेपालमा चीनबाट आयात हुने गरेको छ । पछिल्लो समयमा सङ्घसंस्थाका औपचारिक कार्यक्रम, सम्मान तथा स्वागत समारोह, पारिवारिक उत्सवलगायत अन्य सुखद अवसरमा सम्मानका लागि व्यक्तिलाई खादा लगाइदिने संस्कृति नै बनेको छ ।
यस्ता खादाको प्रयोग प्रायः एकचोटी मात्र हुने र त्यसपछि खासै अन्य प्रयोगमा पनि आउँदैन् । प्रयोग भइसकेपछि यस्ता खादा अन्य फोहरमै मिसाउने गरिन्छ । तर नकुहिने र पुनःप्रयोग पनि नहुने भएकाले यस्ता खादा प्रदुषणको स्रोत हुने गरेको वातावरणविद्हरूको तर्क छ ।
नसड्ने र नगल्ने भएकाले पोलिष्टर खादाले पनि प्रदुषण बढाउन प्लाष्टिकको जस्तै योगदान गर्ने स्वच्छ ऊर्जा नेपालका अध्यक्ष एवं वातावरणविद् भूषण तुलाधरको भनाइ छ । स्वच्छ वातावरणका लागि यस्ता खादाको प्रयोग नियन्त्रण गर्नुपर्ने उहाँको सुझाव छ ।
मुलुकभर लाखौँको सङ्ख्यामा यस्ता खादाको प्रयोग हुने गरेको छ । लुगा–कपडाका मात्र नभई अन्य पसलमा पनि पोलिष्टरका खादाको बिक्री हुने गरेको पाइन्छ । नेपालमा वार्षिक कति परिमाणको खादा आयात हुन्छ भन्ने यकिन तथ्याङ्क सरकारसँग नभए पनि लाखौँको सङ्ख्यामा आयात हुने गरेको अनुमान यस क्षेत्रका व्यवसायीको छ ।
पोलिष्टर खादाको व्यापार वर्षेनी लाखौँको सङ्ख्यामा हुने गरेको काठमाडौँको नयाँ सडकका थोक व्यवसायी शङ्कर महर्जनको अनुमान छ । यस्ता खादाको बजार मूल्य औषतमा प्रतिगोटा रु २० देखि रु ४० सम्म पर्ने उहाँले जानकारी दिनुभयो । नगल्ने र जलाउँदा पनि हानिकारक ग्यास निस्कने पोलिष्टरका खादा प्रदुषण नियन्त्रणमा चुनौती बन्दै गएको छ ।
सुती धागोबाट निर्मित खादाको माग बढ्दै
पोलिष्टर खादाको विकल्पमा पछिल्लो समयमा सुतीको धागोबाट निर्मित स्वदेशी खादाको माग बढ्दै गएको काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ स्थित ‘द हाइल्याण्ड आर्ट’का प्रोपाइटर कल्पना लिम्बूले जानकारी दिनुभयो ।
विसं २०६४ देखि सुतीका धागोबाट निर्मित सामग्रीको उत्पादन र बिक्री गर्दै आउनुभएकी उहाँले हाल वार्षिक १० देखि १५ हजारको सङ्ख्यामा सुती धागोका खादा बिक्री हुने गरेको बताउनुभयो । यस्ता खादाको बजार खुद्रा मूल्य रु ७० देखि रु ८० सम्म पर्ने गरेको छ ।
पोलिष्टर खादाको प्रयोगले देखिएको उक्त चुनौतीलाई ध्यानमा राखेर नै पछिल्लो समयमा सरकार, राजनीतिक दललगायत कतिपय सङ्घसंस्थाका कार्यक्रममा सुती धागोबाट निर्मित स्वदेशी खादाको प्रयोग गर्न शुरु गरिएका छन् ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय संस्कृत विभागका उपप्रध्यापक निर्मला पोखरेलले खादा लगाउने आयातित संस्कृति भएको भन्दै यसलाई हटाउनुपर्ने बताउनुभयो ।
भौगोलिक विविधताका कारण नेपालमा विभिन्न प्रकारका फूल बाह्ै महीना पाइने भएकाले पनि फूलको माला लगाउने नेपाली संस्कृतिलाई नै प्रोत्साहन गर्नुपर्ने उहाँको धारणा छ ।
त्रिभुवन विश्वविद्यालय संस्कृति विभागले आफ्नो परिसरमा पोलिष्टर खादाको प्रयोगमा प्रतिबन्ध लगाएको छ । फूलको माला लगाउँदा एलर्जी हुने व्यक्तिले भने सुती धागोबाट निर्मित खादा प्रयोग गर्नसक्ने संस्कृतिविद् पोखरेलको सुझाव छ ।