Logo

वाचा पूरा नगरेको शहीद परिवारको गुनासो



भीमदत्तनगर, १० कात्तिक / झण्डै डेढ वर्ष अघि सीमा रक्षाका क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमले शहादत प्राप्त गर्नुभयो ।

नेपाल–भारत सीमा क्षेत्र पर्ने यहाँको आनन्द बजार नजिक कल्र्भट निर्माणको विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीबाट गोली लागेर गौतम ढलेपछि केही साता स्थिति निकै तनावग्रस्त बन्यो । लगत्तै तत्कालीन सरकारले गौतमलाई शहीद घोषणा गर्नुका साथै उहाँका सन्ततिलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने बताए पनि त्यो अझै पूरा हुन नसकेको शहीद परिवारको गुनासो छ ।

तीन छोरी रहेका गौतमकी पत्नी लक्ष्मी गौतमले छोरीहरुको स्थानीय विद्यालयमा अध्यापन चलिरहेको बताउनुभयो । “तीन वटै छोरीलाई अलग÷अलग स्कूलमा पढाउनुपरेको छ ।” उहाँले भन्नुभयो, “घटनाका बेला पाइएका धेरै आश्वासन पूरा भएनन् ।”

घटनाका बेला पुनर्वास नगरपालिकाले पनि आफूलाई रोजगारी दिने बताएको लक्ष्मीले राससलाई जानकारी दिनुभयो । “मलाई पनि कहीँकतै जागीर दिइएको छैन ।” उहाँले भन्नुभयो, “सरकारले घोषणा गरेको रु १० लाखसँगै सबैतिरबाट गरी रु ३२ लाख सहयोग जुटेको थियो ।”

उहाँले शहीदका लागि मिलेको सहयोगले पुनर्वासमै रु २६ लाखमा घर किनेको बताउनुभयो । “अहिले रोजगारीका लागि दौडधुप गरिरहेको छु ।” उहाँले भन्नुभयो, “राहत दिने धेरै प्रतिबद्धता औपचारिकताका लागि रहेछन् ।”

त्यसैगरी स्थानीय तहले आनन्द बजारमा शहीद गौतमको शालिक बनाउने भनेको थियो तर त्यो कामको शुरुआत गरिए पनि अझै सम्पन्न गर्ने सुरसार छैन । “शालिक बनाउने काम अझै भएको छैन ।”
त्यसैगरी दुई महीनाअघि कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणका विषयमा चलिरहेको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर भीमदत्तनगरपालिका–१८ सालघारीका १४ वर्षीया शनि खुनाले शहादत प्राप्त गर्नुभयो ।

लगत्तै सरकारले खुनालाई शहीद घोषणा गर्दै रु दश लाख दिने घोषणासमेत गरेको थियो । “सङ्घीय सरकार र भीमदत्तनगरपालिकाबाट घोषणा गरिएको राहत रकम पाइसके ।”

शहीद शनि खुनाका बुबा वीरबहादुरले भन्नुभयो, “सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेको रु पाँच लाख पाउन बाँकी छ ।” उहाँले सङ्घीय सरकारबाट रु १० लाख र भीमदत्तनगरपालिकाबाट रु तीन लाख रकम पाएको जानकारी दिनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्