Logo

नारायणपुरवासीलाई स्वच्छ तथा शुद्ध खानेपानी



दाङ, ११ कात्तिक । नागरिकलाई शुद्ध पिउने पानी वितरण गर्न साढे दुई वर्षपहिले शुरु भएको नारायणपुर खानेपानी योजना निर्माण कार्य सम्पन्न भएको छ ।

निर्माण सम्पन्न भएसँगै अब नारायणपुरवासीले स्वच्छ तथा शुद्ध पानी खान पाउने भएका छन् । नारायणपुर क्षेत्रका अधिकांशले हालसम्म कुवाको पानी पिउँदै आएका छन् । नेपाल सरकारको ७० प्रतिशत अनुदान र उपभोक्ताको २० प्रतिशत श्रमदान र १० प्रतिशत नगद गरी जम्मा रु १५ करोड १४ लाखको लगानीमा सो योजना सम्पन्न भएको नारायणपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष श्रवण रजौरेले जानकारी गराए।

सो योजनाअन्तर्गत चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण, पानी छान्ने मसिन जडान, पानीको नमूना परीक्षण, दुई लाख क्षमता भएको रिजर्भ ट्याङ्की निर्माण र पाइप लाइन विस्तारलगायत काम गरिएको पनि अध्यक्ष रजौरेले बताए ।

विसं २०७२ चैत १२ गते टेण्डर प्रक्रियाबाट सो योजना निर्माणको जिम्मेवारी चन्द्रा एण्ड वसन्त कन्सट्रक्सन प्रालि काठमाडाँैले पाएको थियो । तोकिएको समयभित्र गुणस्तरीय काम हुनुपर्ने भन्दै त्यहाँका उपभोक्ताहरुले निर्माण कम्पनीलाई यसअघि पटक पटक दबाब दिँदै आएका थिए ।सो खानेपानी योजनाबाट नारायणपुर क्षेत्रका तीन हजार २९ घरघुरीका १४ हजारभन्दा बढीले पानी खान पाउने भएका छन् । केही दिनपछि धाराबाट पानी वितरण गरिने बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्