Logo

निगमका वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन



काठमाडौँ, १३ कात्तिक । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नयाँ ‘वाइडबडी’ विमानले पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । निगमको पहिलो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ र दोस्रो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलजेट’ कलसाइन ‘मकालु’ विमानले पुरानै गन्तव्यमा व्यावसायिक उडान गरिरहेको हो ।

अन्तर्राष्ट्रिय उडानमा पुरानै गन्तव्यमा उडान भर्दै आएका नयाँ विमानको पछिल्लो महीनामा ७४ प्रतिशत सिट भरिएको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी गराए ।

भारतको नयाँदिल्ली, मलेसियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, कतारको दोहा र हङ्कङमा नियमित उडान भर्दै आएको छ । कूल २७४ सिट क्षमताको दुबै विमानको १८ साङ्ग्रिला ‘बिजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् । दुबै विमान सरकारको जमानीमा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको करीब रु २४ अर्बमा खरीद गरेको हो ।

अझै पाएन नयाँ गन्तव्य

निगमले तिहारलगत्तै चीन, जापान, दक्षिण कोरिया, साउदी अरेबियाको रियादमा सेवा शुरु गर्ने जनाए पनि नयाँ गन्तव्यको टुङ्गो नलाग्दा अहिले पुरानै गन्तव्यमा वाइडबडी उडान बाध्य भएको हो । रासस



प्रतिक्रिया दिनुहोस्