काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोले एक हजार ९५ एम्पुल लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले लागुऔषध बिक्री वितरण गर्दै हिँडिरहेको अवस्थामा सुर्खेतका ३८ वर्षीय हर्षबहादुर शाही र रामेछापका ३८ वर्षीय झपडबहादुर कार्कीलाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो ।
प्रहरीले उनीहरुबाट ३६५ एम्पुल डाइजेपाम, ३६५ एम्पुल फेर्नागन र ३६५ एम्पुल नुर्फिन बरामद गरेको छ । पक्राउ परेका शाही सशस्त्र प्रहरी निलबराही गण बलम्बुमा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत रहँदा २०६४ सालमा कमलादीस्थित बैँक अफ काठमाडौँ लुटपाटको घटनामा संलग्न रही १० वर्ष कैद भुक्तान गरी छुटेपछि लागुऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । रासस