बाजुरा, १४ कात्तिक । बडिमालिका नगरपालिकाले शैक्षिक गुणस्तरको बाधकका रूपमा रहेका सवालको पहिचानका लागि जिल्ला बाहिर गएर पढ्ने विद्यार्थीसँग मङ्गलबार छलफल गरेको छ । माध्यामिक तहको शिक्षा आर्जन गर्दाको अनुभव र जिल्ला बाहिर गएर उच्च शिक्षा आर्जन गरेको अनुभव आदानप्रदानका लागि कार्यक्रम आयोजना गरिएको नगर प्रमुख पदम बडुवालले बताउनुभयो ।
छलफल अन्यन्त्र पढ्न गएका विद्यार्थीको सिकाइ र अनुभवलाई प्रयोग गर्ने उद्देश्यले आयोजना गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख एवं विद्यालय स्रोत व्यक्ति गम्भीरसिंह गुरुङले बताउनुभयो ।
भाषा, शिक्षण सिकाइ, पाठ्य सामग्रीको प्रयोग र दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा दिन नगरपालिकाले गर्न सक्ने प्रयासका विषयमा सिकाइ आदानप्रदान गरिएको थियो । उच्च शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीले अनुभव सुनाएका थिए । अनुभव र सिकाइ सङ्कलनका लागि जिल्लाका ९ स्थानीय तहमध्ये बडिमालिका नगरपालिकाले अभ्यासका लागि कार्यक्रम आयोजना गरेको र प्राप्त सुझाव तथा अनुभवलाई कार्यान्वयन गर्दै लैजाने नगर प्रमुख बडुवालको भनाइ थियो ।
‘विकासमा जनताको साथ चाहिन्छ’
सुदूरपश्चिम प्रदेशसभा सदस्य बल्देव रेग्मीले स्रोतको उचित परिचालन र सदुपयोग गर्न सबै पक्षको सहकार्य र सहयोग आवश्यक रहेको बताउनुभएको छ । उहाँले जनताको सहयोगले मात्र विकासले सार्थकता पाउने बताउनुभयो ।
जिल्लामा प्रदेश सरकारबाट आएको बजेटको सही सदुपयोग र नतिजामुखी विकासमा खर्च गर्न आफूहरू प्रतिबद्ध रहेको रेग्मीको भनाइ थियो । निश्चित व्यक्ति र ठाउँ विशेष बजेट विनियोजन गरिएको आरोप गतल भएको भन्दै उहाँले सबै क्षेत्र, भूगोल र समस्यालाई सम्बोधन हुने गरी रु ५० करोड विनियोजन गरिएको बताउनुभयो । रासस