Logo

नेपाली काङ्ग्रेसको भूमिका जिम्मेवार हुनुपर्नेः सभामुख श्रेष्ठ



काठमाडौँ १६ कात्तिक । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका जनतालाई सुशासन एवं आर्थिक समृृद्धिको लागि प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसको भूमिका जिम्मेवार हुनुपर्ने जानकारी गराएका छन ।

उनले नेपाली काङ्ग्रेस मकवानपुरद्वारा हेटौँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभाको सक्रियतामा प्रदेश सरकारको आफ्नो कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन आवश्यक ऐन, कानून तर्जुमा गर्ने क्रममा प्रतिपक्ष नेपाली काङ्ग्रेसको रचनात्मक सहयोग र सुझाव आवश्यक भएको बताएका थिए । बहुदलीय प्रजातन्त्रलाई सुढृढीकरण गर्न सबैको प्रयास हुनुपर्ने धारणा उनले राखेका थिए ।

सो अवसरमा प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले जनताप्रति उत्तरदायित्व बोध गर्दै राष्ट्रिय गौरवका आयोजनाको छनोट, बजेटको बाँडफाँट गर्दा दलगत स्वार्थभन्दा माथि उठेर कार्यान्वयन पक्षलाई सुढृढ बनाउन आग्रह गरेका थिए । उनले वर्तमान संविधानको मर्मलाई तराईका दलले पनि आत्मसात् गरी अघि बढनुपर्ने अवस्था आएको र राष्ट्रलाई विखण्डन पार्ने क्रियाकलापप्रति सबै दल सजग हुनुपर्ने विचार व्यक्त गरेका थिए ।

सो कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, मकवानपुरका प्रजिअ आश्मान तामाङ र प्रहरी उपरीक्षक बुद्धिबहादुर गुरुङ र समाजसेवीको सहभागिता रहेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्