Logo

चार वर्षभित्र मुलुकका सबै बस्तीमा सडक



काठमाडौँ,१७ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अबको चार वर्षभित्र मुलुकका कुनै बस्ती सडक नपुगेको नहुने बताएका छन।

महोत्तरी निर्वाचन क्षेत्र नं। १ स्थित विभिन्न ठाउँका विकास निर्माण कार्यको संयुक्तरुपमा अनुगमन निरीक्षण गरेपछि आज भङ्गाहा नगरपालिकाको सीतापुर बजारमा आयोजित समारोहमा उनीहरुले भने, “चार वर्षभित्रमा मुलुकका सबै बस्ती कुनै न कुनै सडक सञ्जालले छोइसक्ने छ ।”

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले अबको दुई वर्षभित्रै महोत्तरी बर्दिवासदेखि जनकपुर हुँदै जयनगरसम्मको ब्रोडगेज रेल सेवा सञ्चालन भइसक्ने जनाएका थिए ।

“धनुषाको कुर्थादेखि जयनगरसम्मको रेल सेवा त यही आउने मङ्सिरभित्रै सञ्चालन हुनेछ”, उनले भने, “कुर्थादेखि भङ्गाहाको बिजलपुरासम्म पाँच महीनाभित्र र भङ्गाहाबाट बर्दिवाससम्म विसं २०७७ को मङ्सिर भित्रै रेल सेवा सञ्चालन भइसक्ने छ ।” यद्यपि भङ्गाहाको बिजलपुरादेखि बर्दिवाससम्मको जग्गा मुआब्जाको कुरा नटुङ्गिएकाले काम गतिमा बढाउन समस्या भएको मन्त्री महासेठको भनाइ छ ।

उनले मुआब्जाबारे तत्काल सिफारिश गरी पठाउन प्रमुख जिल्ला अधिकारी नेतृत्वको जग्गा मूल्याङ्कन समिति र स्थानीय तहका प्रमुखलाई निर्देशन दिएको बताउँदै बर्दिवास जलेश्वर सडकको स्तरोन्नति र लालगढ–भङ्गाहा–पडरीया भङ्गाहा–८ सडकलाई कृषि सडकका रुपमा विकास गरी कालोपत्र गरिने काम तत्काल शुरु गरिने जानकारी दिएका छन ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले मुलुकको समृद्धि अभियानलाई केन्द्रमा राखेर सरकार अघि बढेको चर्चागर्दै अब मुलुकमा माध्यमिक तहको शिक्षालाई सीपमुखी बनाउन यसै शैक्षिकसत्रदेखि नयाँ पाठ्यक्रम बनाइएको जनाए ।

“तपाइँहरु पनि आफ्ना ठाउँका माध्यमिक विद्यालयमा कुन विषयको व्यावसायिक शिक्षाको पठनपाठन गराउने हो, सल्लाहमा जुट्नुहोस्”, उनले भने “अब परम्परागत शिक्षाले समृद्धि अभियान अघि बढ्न सक्दैन ।” यस्ता व्यावसायिक विषयमध्ये बाली विज्ञान, पशु विज्ञान, आयुर्वेद, योग, इञ्जीनियरिङ, प्राकृतिक चिकित्सा र कम्प्युटर विज्ञानजस्ता विषय हुने मन्त्री पोखरेलको भनाइछ ।

यसैगरी आज बिहानै मन्त्री महासेठ र मन्त्री पोखरेलले बर्दिवास–३ गौरीडाँडामा बर्दिवास नगरका बासिन्दासँगको रेल्वे जग्गाको मुआब्जा निर्धारणबारेको छलफल गरेका थिए ।

सो अवसरमा मन्त्री महासेठले रेल्वेका लागि जग्गाको मुआब्जाको विषय जग्गा बेच्न ग्राहकसँग मोलमोलाइ गर्ने तरिकाले नभई मेरो ठाउँमा राष्ट्रिय गौरवको महत्वपूर्ण काम हुँदैछ र म त्यसमा सहभागी हुँदैछु भन्ने सोचले गर्नुपर्ने जग्गा धनीसँग आग्रह गरेका थिए ।

बर्दिवास–जयनगर रेल्वेको ६९ किमी दूरीमध्ये भङ्गाहाको बिजलपुरादेखि बर्दिवाससम्मको १८ किमी दूरीभित्र पर्ने रेलका लागि रोक्का गरी सकिएको १५७ बिगाहा जग्गाको मुआब्जा निर्धारण हुन बाँकी छ । दुवै मन्त्रीले आज बर्दिवास–जयनगर रेल्वेको प्रस्तावित स्टेसन क्षेत्र, लिक क्षेत्र र यहाँका सडकको स्थलगतरुपमा संयुक्त अनुगमन तथा निरीक्षणसमेत गरेका थिए। अनुगमन निरीक्षणका क्रममा रेल्वे विभागका महानिर्देशक बलराम मिश्रसहितका अधिकारीको सहभागिता थियो । रासस



प्रतिक्रिया दिनुहोस्