काठमाडौँ,१९ कात्तिक । भारतको नयाँ दिल्लीमा गत शुक्रबार सम्पन्न तङ इल मोदो मार्सल आर्ट विश्वकपमा स्वर्ण पदक विजेतालाई आज सम्मान गरिएको छ ।
मार्सल आर्ट दाङले आज बजार परिक्रमा गरी घोराही–१५ का ११ वर्षीय कृष्ण नेपालीलाई अभिनन्दन गरेको हो । विश्वकप जितेर गृह जिल्ला दाङ फर्किएपछि विजयी खेलाडी नेपालीलाई स्वागत तथा सम्मान गरिएको थियो । तङ इल मोदो मार्सल आर्ट विश्वकपमा गत शुक्रबार भएको अन्तिम खेलमा २१–२३ केजी समूहमा उनले स्वर्ण पदक प्राप्त गरेका थिए ।
उनीसँगै दाङबाट विवेक नेपालीले पनि विश्वकपमा सहभागी जनाएका थिए । नेपालबाट ६ खेलाडीले स्वर्ण पदक जितेका थिए । मार्सल आर्ट दाङका अध्यक्ष हेमराज अधिकारीका अनुसार उक्त विश्वकपमा नेपालीसँगै कैलालीका प्रशान्त चौधरी, रितु चौधरी, पवन हमाल र अनिता विष्ट तथा सुनसरीकी पूजा चौधरीले स्वर्ण पदक जितेका थिए । रासस