Logo

समृद्ध नेपाल र सुखी जनता बनाउन एकता आवश्यक



दाङ, २० कात्तिक । दाङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्यहरुले यहाँ सञ्चालन भएका आँखा अस्पताललाई नेपाल कै नमूनायोग्य अस्पताल बनाउनुपर्ने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित लमही आँखा अस्पतालले लमहीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रतिनिधिसभाका सदस्यहरुले सो कुरा बताएका हुन् ।

प्रतिनिधिसभाका सदस्य मेटमणि चौधरी, पार्वती डिसी चौधरी, विमला नेपाली, गङ्गा चौधरी र विष्णु पौडेलले क्षेत्र नं १ अन्तर्गत देउखुरी क्षेत्रको विकासका लागि आफूहरु एक भएको बताउनुभयो ।

प्रतिनिधिसभाका सांसद मेटमणि चौधरीले समृद्ध नेपाल र सुखी जनता बनाउने अभियानमा आफूहरु लागेको भन्दै लमही आँखा अस्पताललाई नेपालकै नमूना अस्पताल बनाउन आफूहरुले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो ।

“शिक्षा स्वास्थ्य पाउनुपर्ने मानिसको अधिकार हो अस्पतालको विकासका लागि गुरुयोजना बनाउनुहोस्, यस वर्ष जति सकिन्छ बजेट विनियोजन गर्ने छौँ” उहाँले भन्नुभयो । उहाँले आँखा अस्पतालमा हाल भारतबाट पनि उपचार सेवा लिन धेरै जना आउने गरेको बताउँदै अस्पतालको सेवालाई थप प्रभावकारी र साधन स्रोत सम्पन्न गरी नेपालैभरिबाट यहाँ उपचारका लागि आउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभाका सांसद पार्वती डिसी चौधरीले पनि नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित आँखा अस्पतालको विकासका लागि आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभयो । प्रतिनिधिसभाका सदस्य गङ्गा चौधरी, विमला नेपाली, र विष्णु पौडेलले पनि आँखा अस्पताललाई सुविधा सम्पन्न गराउन आफूहरुले आफ्नो क्षेत्रबाट र अन्य निकायसँग पनि सहयोग माग गरी नेपालकै नमूनायोग्य अस्पताल गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल नेत्रज्योति सङ्घ दाङका सभापति कृष्णकुमार गिरीले नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालन भएका तीन वटा आँखा अस्पताल र उपचार केन्द्रले सीमित साधन स्रोतका बाबजुद पनि सेवा प्रवाह गरेको भन्दै अब यसको विकासका लागि जनप्रतिनिधिले सहयोग गर्नुपर्ने बताउनुभयो ।

आँखा अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा सुरेश रसाइलीले यहाँका आँखा अस्पताललाई विस्तार गरी तालिम केन्द्रको रुपमा समेत विकास गर्नुपर्नेमा जोड दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्