Logo

ऐनअनुसार कामदारको सेवा–सुविधा शतप्रतिशत लागू गरिनेः मन्त्री विष्ट



काठमाडौँ,२० कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले औद्योगिक क्षेत्र तथा प्रतिष्ठानमा श्रम ऐनअनुसार कामदारको सेवा–सुविधा शतप्रतिशत लागू गरिने बताएका छन ।

सामुदायिक रेडियो प्रसारक सङ्घ अकोरावले आज आयोजना गरेको ‘सङ्घीय नीतिमा उत्तरदायी व्यवसायसम्बन्धी व्यवस्था’ विषयक अन्तक्र्रियमा उनले श्रमिक र उद्योगी बीचका विद्यमान समस्या सामूहिक छलफलबाटै समाधान गरिने जनाए । मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरण तथा रोजगार वृद्धि गर्न कृषि क्षेत्र महत्वपूर्ण भएको बताउँदै मन्त्री विष्टले प्रादेशिक विशेषताअनुसार उत्पादन बढाउँदै लैजानुपर्नेमा जोड दिएका छन ।

पूर्वमन्त्री हरिबोल गजुरेलले कृषकलाई समयमै बीउबिजन, उपकरणलगायत सामग्री उपलब्ध गराउन गर्नसकेमा उत्पादन वृद्धि गर्न सहज हुने हुँदा त्यसचर्फ सङ्घीय नीति सहयोगी हुनुपर्ने विचार व्यक्त गरेका छन । राष्ट्रियसभाका सांसद् बलराम बाँस्कोटाले कृषि प्रणालीलाई यान्त्रीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा युवकध्वज जिसीले राष्ट्रिय बजेटको करीब दुई प्रतिशत मात्र कृषि क्षेत्रमा विनियोजन गरिएकाले कृषकलाई विभिन्न शीर्षकमा तालीम तथा अनुदान उपलब्ध गराउन नसकिएको जनाए । नेपाल कृषि सहकारी महासङ्घका महाप्रबन्धक रुद्र भट्टराईले आफ्नो संस्थाअन्तर्गत विभिन्न ७१ जिल्लामा साना किसान कृषि सहकारी संस्था र समान प्रकृतिका अन्य संस्था गरी ९४२ सदस्य सङ्गठन विस्तार भइसकेको जानकारी गराएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्