हरारे, २२ कात्तिक / जिम्बाबेमा भएको गम्भीर बस दुर्घटनामा परी बुधबार कम्तीमा ४७ जनाको मृत्यु भएको छ । दुई ओटा बस एक आपसमा ठोक्कीएर दुर्घटना भएको जिम्बाबेका सरकारी अधिकारीले जानकारी दिएका छन् ।
प्रहरी प्रवक्ता पौल न्याथीले राजधानी हरारेदेखि १५६ किलोमिटर टाढा पर्ने रुसप नजिकै दुर्घटना भएको बताउनुभयो । प्रवक्ता न्याथीले ४७ जनाको मृत्यु भएको पुष्टी गर्दै घटनाको कारणका बारेमा भने अहिलेसम्म केही स्पष्ट भइनसकेको जानकारी दिनुभयो ।
घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको उहाँको भनाइ छ । मृत्यु भएका ४७ जनामध्ये ४५ जना बयस्क र अरु दुई जना बालबालिका रहेको समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा)