Logo

महोत्सव तयारी अन्तिम चरणमा



तनहु । यही कत्तिक ३० देखि दमौलीमा शुरु हुन गइरहेको तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको तयारी अघि बढाइएको छ । महोत्सवको ९० प्रतिशत तयारी पूरा भएको नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिनुभयो ।

रमाइलो मेलाको सामग्री जडान, स्टलको छाना राख्ने काम तीव्रसाथ भइरहेको छ । ‘प्रचारप्रसारका व्यानर, पम्प्लेट टाँस्ने काम अन्तिम चरणमा पुगेको छ । उहाँले भन्नुभयो, “प्रवेशद्वार पूर्व मुग्लिन पुल र पश्चिम दुलेगौँडामा व्यानर टाँगिसकिएको छ । जिल्लाका भिन्न भागमा पनि व्यानर र गेट निर्माण भइसकेको छ ।” परिषद आयोजना तथा विभिन्न जातीय सङ्गठनको सहआयोजनामा हुने महोत्सवमा विभिन्न प्रतियोगिता हुने बताइएको छ ।

महोत्सवलाई पृथकता दिन महोत्सव अवधिमा दोहोरी गीत प्रतियोगिता, व्याडमिन्टन र कराँते प्रतियोगिता हुने भएको परिषद्का सचिव एवं महोत्सवका प्रवक्ता नन्दु थापामगरले बताउनुभयो । महोत्सवबाट हुने मुनाफाले आदिवासी जनजातिको सङ्ग्राहलय बनाउने मुख्य उद्देश्यअनुरुप महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमार्फत् जिल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गरी पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने आयोजकको लक्ष्य छ । महोत्सवमा सांस्कृतिक प्रर्दशनी, सांस्कृतिक नमूनाग्राम भ्रमण, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलबिहार गर्ने व्यवस्था गरिएको मिलाइएको छ ।

महोत्सवमा विभिन्न आदिवासी जनजातिका खाना, आदिवासी जानकारीका स्टल, आदिवासी जनजाति सम्बन्धी पुस्तक प्रदर्शनी, कृषि उत्पादन बिक्री तथा प्रर्दशनका कक्ष, विभिन्न व्यापारिक सामग्रीका प्रदर्शनी तथा बिक्री, कम्पयुटर, सञ्चार, शैक्षिक प्रदर्शनी र बिक्रीकक्षलगायतका गरी २३० कक्ष रहनेछन् । रासस



प्रतिक्रिया दिनुहोस्