काठमाडौँ,२६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता जनार्दन शर्माले अबको आन्दोलन विकास र उत्पादनको भएको बताएका छन । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१ मा आयोजित पालाकोट धार्मिक तथा पर्यटन महोत्सवको आज उद्घाटन गर्दै उनले राजनीतिक आन्दोलन पूरा भएको जनाए ।
“नेपालमा लामो समय राजनीतिक आन्दोलन चल्यो र निष्कर्षमा पुग्यो”, उनले भने, “अबको आन्दोलन भनेको विकास र उत्पादनको हो ।” विकास र उत्पादनसँगसँगै अगाडि बढ्नुपर्नेमा समेत उनले जोड दिएका थिए ।
त्यस्तै उनले यस आन्दोलनको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन । युवाको परिचालन बिना समृद्धि हासिल गर्न नसकिने उनको भनाइ रहेको थियो । “युवाहरु देशका खम्बा हुन्, उनीहरुलाई स्वदेशमै श्रम गर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्छ, युवाहरु लागे भने देशले समृद्धि हासिल गर्न समय लाग्दैन”, उनले स्ुनाए ।
राजनीतिक आन्दोलनलाई सफल पार्नका लागि जनताले जीउज्यान दिएर सहयोग गरेको र अब विकास र उत्पादनको आन्दोलनलाई सफल पार्न पनि त्यसैगरी लाग्नुपर्नेमा उनको जोड रहेको थियो । पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले आजैबाट विकास र उत्पादनको आन्दोलनमा जोडिन सबैसामु अपिल गरेका छन । उनले कर्णाली प्रदेशलाई अग्र्यानिक प्रदेशका रुपमा विकास गर्न कर्णाली प्रदेश लागेको जानकारी गराउँदै सरकारको यस अभियानलाई पनि ध्यानमा राखेर उत्पादनमा जोडिन आग्रह गरेका थिए ।
प्रतिनिधिसभाका सांसद समेत रहेका नेता शर्माले पर्यटनलाई पनि उत्पादनसँग जोडेर हेर्नुपर्ने बताए। प्रकृतिले निःशुल्क रुपमा दिएका पर्यटकीयस्थलको सुन्दरतालाई बेचेर त्यसलाई उत्पादनसँग जोड्नुपर्ने उनको सुझाव रहेके थियो। रासस