Logo

पतनमा आफ्नो प्रगति देख्ने प्रवृत्तिको अन्त्य आवश्यकः नेता पौडेल



काठमाडौँ,३० कात्तिक । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र रहेका गुटलाई व्यवस्थापन गरी अगाडि बढ्नुको विकल्प नभएको जनाएका छन।

प्रजातान्त्रिक आन्दोलनका योद्धा हरिहरप्रसाद कलवारको १३औँ दिनको पुण्यतिथीको अवसरमा नेपाली काङ्ग्रेस पर्साले आज वीरगञ्जको हरपतगङ्गमा आयोजना गरेको श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन ।

वरिष्ठ नेता पौडेल भने, “मिल्ने मात्र होइन, नेताहरुमा रहेका गलत प्रवृत्तिलाई समाप्त पारी पार्टीलाई एकढिक्का बनाई अगाडि बढ्नु नै आजको आवश्यक्ता रहेको छ ।’ उनले अरुको पतनमा आफ्नो प्रगति देख्ने प्रवृत्तिलाई अन्त्य गर्दै नेतृत्वले न्याय, निष्पक्षता र पारदर्शी मुल्याङ्कनको आधारमा पार्टीलाई अगाडि बढाउन आवश्यक रहेको विचार व्यक्त गरेका थिए ।

नेता पौडेलले भ्रष्टाचार, महँगी, अपराध बढ्दै गएकाले जनतामा वर्तमान सरकारप्रति निराशा छाएको आरोप लगाए । उनले सरकार गठन भएको छ महीना बितेपनि सरकारले जनतालाई राहत दिनुको साट्टा काण्डै–काण्डमात्र दिएकाले जनता निरास भएको भनाई राखेका थिए ।

नेपाली काङ्ग्रेस पर्साका अध्यक्ष अजयकुमार द्विवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काङ्ग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, अजयकुमार चौरसिया लगायतका वक्ताले तीनै तहका सरकारको कर नीतिले जनतालाई दुःखी बनाएको धारणा व्यक्त गरेका थिए। रासस



प्रतिक्रिया दिनुहोस्