काठमाडौं ३० कार्तिक । तीन साताअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ । सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथिसमेतलाई पक्रेको थियो । गिरफ्तारीको कारण खुलाइएको छैन । घटनाबारे सरकारी निकाय पनि मौन देखिएका छन् ।
पक्राउ पर्नेमा एनआरएन मध्यपूर्व संयोजक राजेन्द्रकुमार शर्मा तथा लोकदोहोरी गीत प्रतिष्ठान कतार शाखाका शक्ति क्षत्री, रामबाबु बोहरा, रीतकुमार श्रेष्ठ र कृष्ण ढकाल छन् । क्षत्री शाखाका उपाध्यक्षसमेत हुन् ।
अक्टोबर ५ मा नेपाली कलाकारले एउटा कार्यक्रम आयोजना गरेका थिए । गायक प्रकाश सपुतको ‘बोल माया’ गीतमा रोजगारदाताले कामदारलाई दिएको पीडा अभिनयमार्फत् प्रस्तुत गरिएको थियो । नेपालबाट कतार आउँदा रोजगारदाताको शोषणमा पर्ने र अन्ततः मृत्यु भइ बाकसमा फर्कनुपर्ने अवस्थाको चित्रण अभिनयमा गरिएको थियो । अरबी पोसाक (कन्दुरा) लगाएको कतारी मालिकले नेपाली कामदारमाथि ज्यादती गरेको दृश्य देखाइएको थियो ।
अक्टोबर १८ मा सादा पोसाकमा आएका प्रहरीले उनीहरूलाई पक्रेको हो । पक्राउ परेकामध्ये शर्मालाई भने गत बिहीबार करिब १५ मिनेट परिवारसँग कुरा गर्न दिइएको थियो । अन्यलाई आफन्तसँग भेट्न तथा कुरा गर्न दिइएको छैन ।
एनआरएन संयोजक शर्मा उक्त कार्यक्रमका अतिथि थिए । उनलाई सुरक्षा निकायले त्यस किसिमको कार्यक्रम किन नरोकेको भनी सोधखोज गरिरहेको जनाएको छ ।
अभिनयको भिडियो युट्युबमा राखिएपछि कतार सरकारले अनुसन्धान सुरु गरेको थियो । त्यसपछि अभिनयमा संलग्न कलाकार र शर्मालाई प्रहरीले समातेको हो । अन्नपूर्णपोष्टबाट