Logo

नौ विद्यार्थी प्रहरी नियन्त्रणमा



काठमाडौँ,१ मङ्सिर । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले बताए अनुसार रजिष्ट्रार मनराज कोलाक्षपति र सेवा आयोगको अध्यक्ष रामनाथ ओझालाई कार्यालयमै बन्दक बनाएकाले साँझ विद्यार्थीलाई नियन्त्रणमा लिइएको जनाए । उनीहरुले दिनभर धर्ना बसेर पदाधिकारीका गाडीसमेत चलाउन नदिएका कारण प्रहरीले लाठीचार्जसमेत गरेको थियो । बन्धक बनाइएका पदाधिकारीलाई उनीहरुको सवारीसाधनमा घर पठाइएको उनले बताए।

पक्राउ पर्नेमा अनेरास्ववियुका विश्वविद्यालयका एकाइ अध्यक्ष हेमराज कठायत, भास्करसिंह ठकुरी, सन्तोष खतिवडा, केशवराज काफ्ले, अबित रेग्मी, झलक जोशी, दर्शन अधिकारी, बामदेव रेग्मी, सुमन पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विश्वविद्यालयले सम्बन्धन दिएका निजी क्याम्पससहितले भर्ना खोलेपछि विद्यार्थी र प्राध्यापक आन्दोलित हुँदै आएका छन् । उनीहरुले विश्वविद्यालयमा लगाएको ताला बिहीबार बिहान प्रहरीले तोडेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot