Logo

उपत्यकाबाट ३० मेट्रिक टन फोहर व्यवस्थापन



काठमाडौँ,१ मङ्सिर । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८८ औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २४ संस्थाका ४५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेल बताइन । सफाइमा नायिका एवं वाग्मती सद्भावना दूत मनिषा कोइराला, अधिकार सम्पन्न वाग्मती समिति अध्यक्ष नरेन्द्रराज बस्नेतलगायत अभियानकर्मीको सहभागिता थियोे ।

यो हप्ता जन्मदिन परेका अभियानकर्मी प्रमिला पौडेल, बुद्धि कट्टृेल र ओम बस्नेतले समी एवं कपूरका बिरुवा नदी किनारमा रोपेका थिए । आलोकनगर सफाइ अभियानले ८४ औँ हप्ताको सफाइ बुद्धनगर क्षेत्रमै गरेको थियो । मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले २४९ औँ हप्ताको सफाइ पनि गुह्यश्वरी क्षेत्रमै ग¥यो । तिलगङ्गा महिला समूहले १९० औँ हप्ताको सफाइ पनि गुह्येश्वरी क्षेत्रमै गरेको थियो ।

छठ पर्वका अवसरमा गुह्येश्वरीबाट गौरीघाटसम्म छठीघाट निर्माण गर्दा भएको फोहर सफाइका क्रममा व्यवस्थापन गरिसकिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी गराए । कात्तिक २८ गतेदेखि शुरु गरिएको घाट सफाइ आज सम्पन्न गरिएको उनले जनाएका छन ।

सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासीको उल्लेख्य सहभागिता थियो । कुहिने फोहर खाडल खनेर पुरी नकुहिने फोहर महानगरपालिकाको– ८ ले व्यवस्थापन गरेको थियो । अभियानले सफाइमा आउँदा घरको फोहर घरमै व्यवस्थापन गर्न आह्वान गरिएको अभियानकर्मी पुडासैनीले सुनाए।

रुद्रमती सफाइको २४३ औँ हप्तामा रातोपुल–कालोपुल–सिफल हुँदै गौशालासम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । नदी किनारमा रोपिएका बिरुवामा पानी हाली गोडमेल र स्याहार गर्न नजिकका घरधनीलाई अनुरोध गरिएको अभियानकर्मी रोहित गिरीले जनाएका छन।

सफाइमा महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की, वातावरण संरक्षण अभियान, रुद्रमती सरोकार समाज, प्रसिद्धि कला समूहलगायत संस्थासहित स्थानीयवासीको सहभागिता थियो । विष्णुमती सफाइ अभियानको २१५ औँ हप्तामा कालिमाटी पुलमुनिको नदी किनारमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
महानगरपालिका–१३ मा क्रियाशील भीमेश्वर महिला समूहको सफाइमा सक्रियता थियो । नदी किनारमा ट्याक्टरमा कपास ल्याई सिरक, डस्ना बनाउनेयन्त्र सहितका मानिसलाई सम्झाएर अब फोहर नगर्न प्रतिबद्ध बनाइएको अभियानकर्मी बीजेन्द्र लामाले जानकारी गराए।

पानीपुरी बेचेर नदीमा फोहर गर्नेले पनि अब सफा गर्छु भनी बाचा गरेका छन् । सफाइमा विद्यार्थीसहित २०० जना भन्दा बढीको सक्रियता थियो । सुन्दरीघाट क्षेत्रको वाग्मती सफाइको ९८ औँ हप्तामा १०० जना स्थानीयवासीले त्यस क्षेत्रको सफाइ गरेका छन् । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक चित्र सुनुवार बताउन्छन ।

मनोहरा सफाइको ८८ औँ हप्तामा महानगरपालिका– ३२ नं वडास्थित हनुमन्ते र मनोहरा दोभानको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्रप्रसाद दङ्गालले बताए ।

चक्रपथ सफाइको ८४ औँ हप्तामा नयाँ बसपार्क माछापोखरी क्षेत्रमा सफाइ गरियो । तीनवटै सुरक्षा निकाय, महानगरपालिका, अभियानकर्मी र स्थानीयवासी गरी ३५० भन्दा बढीले गरेको सफाइबाट ११ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी तिलक बस्नेतले जानकारी गराए।
चक्रपथ बाफल खण्डको ६६ औँ हप्तामा सीतापाइलाबाट स्युचाटारपुलसम्मको क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए।

सफाइमा स्कटल्याण्डबाट आउनुभएका गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष भोला खनालसहित अभियानकर्मीको सक्रियता थियो । सफाइमा हेभी इक्विपमेन्ट डिभिजन कार्यालय मीनभवनबाट बु्रमर ल्याई यस क्षेत्रमा जम्मा भएको धुलो उठाएर व्यवस्थापन गरियो ।

विसं २०७० जेठ ५ गते वाग्मतीबाट शुरु भएको सफाइ अभियान हाल देशका १०० भन्दा बढी स्थानमा फैलिएको छ । सफाइबाट २० हजार मेट्रिक टन फोहर व्यवस्थापन भइसकेको सफाइ महाअभियानले जनाएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्