Logo

जग्गा अभावले विद्यालयको पुनःनिर्माण अन्योलमा



रामहरि न्यौपानेः बेत्रावती । विद्यालयको आफ्नै नाममा जग्ग्गा नहुँदा भूकम्पले क्षतिग्रस्त नुवाकोटका २८ विद्यालयको पुनःनिर्माण कार्य अन्योल भएको छ ।

विसं २०७२ वैशाख १२ को भूकम्पले भवनमा क्षति पुगेपछि ती विद्यालयको आफ्नै नाममा जग्गा नहँुदा पुनःनिर्माणको लागि दाता र सरकारी निकायले भवन बनाउन बजेट छुट्टाएपनि जग्गा अभावले रोकिएको छ । क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण नहुँदा विद्यार्थी टहरामा अध्ययन गर्न बाध्य हुँदै आएको जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा०का प्रमुख वीरेन्द्रजङ्ग थापाले जानकारी दिनुभयो ।

उहाँको अनुसार भूकम्पले क्षति पुगेका विद्यालयको पुनःनिर्माणमा स्वदेशी तथा विदेशी संस्था र सरकारी निकायको संयुक्त प्रयास जारी रहेपनि जग्गा नभएका विद्यालयमा भवन बनाउन लगानीको लागि कानूनी जटिलताले बजेट तर्जुमा गर्न सकिएको छैन ।

“कार्यविधिअनुसार विद्यालयको भवन निर्माणको लागि लगानी गर्न आफ्नै नाममा जग्गा भएको हुनुपर्ने प्रावधान रहेको छ ।” थापाले भन्नुभयो, “टहरामा कक्षा सञ्चालन हुँदै आएको देखेर पनि सरकारी लगानी र भवन बनाउने भनी कार्यक्रम लिएर आएका दातालाई रोक्न बाध्य छौँ ।”

विद्यालय स्थापनाको समयमा सार्वजनिक जग्गामा संरचना बनाएर चलाउँदै आएपनि भूकम्पपश्चात् सरकारी निकायले रकम निकासा तथा संस्थालाई निर्माणको जिम्मा दिन विद्यालयको आफ्नै नाममा जग्गा भएको हुनुपर्ने बाध्यकारी भएपछि विद्यालयको पुनःनिर्माण अन्योल भएको हो ।

आफ्नो नाममा जग्गा नभएका विद्यालयलाई जग्गा प्राप्ति गर्न पत्राचार गरे पनि कुनैबाट पनि आशालाग्दो पहल नभएको एकाइका इञ्जिनीयर सुमन पोखरेलले जानकारी दिनुभयो । जग्गा प्राप्तिको लागि विद्यालयको आन्तरिक स्रोतमार्फत खरीद र दाताबाट प्राप्त गर्न सकिने भए पनि त्यो प्रभावकारी बन्न सकेको छैन ।

जग्गा अभावमा भूकम्पले क्षति पुगेका भवनको पुनःनिर्माण गर्न नसक्नेमा गुफादेवी आधारभूत बागेश्वरी, पञ्चकन्या आधारभूत मदानपुर, रामजानकी आधारभूत मदानपुर, भैरवकुण्ड आधारभूत रातमाटे, जानकी आधारभूत घ्याङ्फेदी, मागेन आधारभूत घ्याङ्फेदी, नारायण आधारभूत गाउँखर्क, कल्लेरी आधारभूत राउतबेँसी, कृष्ण आधारभूत शिखरबँेसी रहेका छन् ।

जग्गा अभावमा पुनःनिर्माण नभएको अन्य विद्यालयमा बज्रदेवी आधारभूत सामरी, कालिका आधारभूत कल्याणपुर, महालक्ष्मी आधारभूत विदुर, बाघभैरव आधारभूत विदुर, महालक्ष्मी आधारभूत खानीगाउँ, दुर्गमतारा आधारभूत भाल्चे, नमूना आधारभूत सिक्रे, स्याउरेभूमे आधारभूत सिक्रे, अष्टदेवी आधारभूत महाकाली, भूमेदेवी आधारभूत महाकाली, ग्राहीथुम आधारभूत महाकाली, जानकी आधारभूत महाकाली नेपाने आधारभूत महाकाली रहेका छन् ।

यस्तै, कालिकादेवी मावि समुन्द्रादेवी, महालक्ष्मी आधारभूत ओखरपौवा, मानेघ्याङ आधारभूत चाउथे, नवसिर्जनशील आधारभूत चाउथे, कल्पेश्वरी आधारभूत उर्लेनी र शङ्खनाथ आधारभूत खरानीटार रहेका छन् ।

जग्गा अभावले पुनःनिर्माण हुन सकेकोमध्ये कालिकादेवी मावि दाताको सहयोगमा सञ्चालनमा रहेको संस्थागत विद्यालयको पक्की भवनमार्फत सञ्चालनमा रहेको छ भने बाँकी टहरामै चलिरहेको शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले जनाएको छ ।

जग्गा अभावबाट नै जिल्लामा प्राविधिक शिक्षा अध्ययन गरी उत्कृष्ट शिक्षा प्रवाह गर्दै आएको थानापतीको जनज्ञान निकेतन माविको भवन पनि मर्मतमा कठिनाइ भएको छ । “विद्यालयको हालको पक्की संरचनामा आंशिक क्षति पुगेको छ ।” पोखरेलले भन्नुभयो, “विद्यार्थी अन्यत्र स्थानान्तरण गर्न जग्गा अभावले क्षतिग्रस्त भवनमा अध्ययनरत विद्याथीलाई सुरक्षित बनाउन सकिएको छैन ।”

भारतीय दूतावासले काम गरेन

भूकम्पले क्षति पु¥याएको विद्यालयको पुनःनिर्माण तथा मर्मतको लागि भारत सरकारले जिम्मा लिएको दश विद्यालयको काम अझै शुरु गरेको छैन । भारत सरकारको सहयोगमा भूकम्पअघि निर्माण गरेका पाँच विद्यालयको मर्मत र नयाँ पाँच विद्यालयको सबै संरचना बनाउने जिम्मेवारी लिए पनि काम शुरु नगरेको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

एकाइका सूचना अधिकारी पोखरेलका अनुसार ऐसेलुभूमे मावि काहुले, पञ्चलिङ्गे मावि काहुले, पिमल्टार मावि तारुका, कालिका मावि चाउथे र सरस्वती मावि गाउँखर्कको निर्माण गर्न दूतावासले बोलपत्र आह्वान गरी निर्माण व्यवसायी चयन गरेपनि कार्य अनुमति स्वीकृत नदिँदा पुनःनिर्माण अन्योल भएको हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot