Logo

सामुदायिक विद्यालयमा सुधार



पर्वत । जिल्लामा सामुदायिक विद्यालयले शैक्षिक सुधार गरेपछि निजी विद्यालय बन्द भइरहेका छन् । शहरी क्षेत्रमा धमाधम सामुदायिक विद्यालय बन्द भइरहेका छन् र निजी विद्यालय खुलिरहेका बेला पर्वत जिल्लामा भने यसको विपरीत देखिएको छ ।

निजी विद्यालय बन्द भएर सामुदायिक विद्यालयमा गाभिने क्रम दक्षिण पर्वतको बिहादी गाउँपालिकामा शुरु भएको हो । गाउँपालिकाले सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन गराउन थालेपछि निजी विद्यालय छाडेर विद्यार्थीहरु सामुदायिक विद्यालयमा आउन थालेका छन् ।

गाउँपालिकाले एक कक्षादेखि तीन कक्षासम्म अनिवार्य अङ्ग्रेजी माध्यममा पढाउन थालेका छन् । चालु शैक्षिक सत्रदेखि गाउँपालिकाभित्र रहेका ३२ सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउन थालेको छ । अनिवार्य अङ्ग्रेजी, विज्ञान र गणित विषय अङ्ग्रेजी माध्यममा पढाउन थालिएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी नआउने र अङ्ग्रेजी पढाउनकै लागि अभिभावकले बालबालिका बोकेर बजार झर्न थालेपछि एकैपटक सबै विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउन शुरु गरिएको गाउँपालिकाका गाउँ शिक्षा अधिकृत कृष्णप्रसाद आचार्यले बताउनुभयो । ‘‘सामुदायिक विद्यालय खाली हुँदै गएपछि जबर्जस्ती सुधारका लागि विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउन थालेका हौँ’’ उहाँले भन्नुभयो, “त्यसको प्रभाव अहिले नै देखिन थालेको छ, सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढेको छ ।”

गाउँपालिकाले अङ्ग्रेजी माध्यममा विद्यालयमा पढाउन शुरु गरेपछि बिहादी–२ बर्राचौरको बिहादी बोर्डिङ स्कुल बन्द भएको छ भने वडा नं १ बाच्छाको जनकल्याण माविमा नजिकका विद्यार्थी आएपछि त्यहाँको बोर्डिङ पनि बन्द हुने अवस्थामा पुगेको छ । तीन कक्षासम्म चलेको विहादी बोर्डिङ यसवर्षदेखि बन्द भएको छ । विद्यार्थी धेरै नजिकैको आम्बारी माध्यामिक विद्यालयमा गएका छन् ।

निजी विद्यालय बन्द भएपछि आम्बारी माविमा तल्लो कक्षामा विद्यार्थीको चाप बढेको प्रधानाध्यापक गणेश पौडेलले बताउनुभयो । अझै आम्बारी माविको भवन गएको वर्षायाममा भत्किएपछि बन्द भएको बिहादी बोर्डिङ स्कुल पाँच कक्षा प्रयोग गरेर सञ्चालनमा ल्याइएको छ ।

‘‘एकातिर विद्यालय बन्द भएको छ भने त्यही विद्यालयमा सामुदायिक विद्यालयका कक्षा सञ्चालन भइरहेका छन्’’ प्रअ पौडेलले भन्नुभयो, “अङ्ग्रेजी माध्यममा पढाउन थालेपछि विद्यार्थी बढ्दै गएका छन्” सामुदायिक विद्यालयले कक्षा एक भन्दा तल्लो तहबाट अङ्ग्रेजीमा पढाउन शुरु गर्दा अझै प्रभावकारी हुने देखिएको छ । एकैपटक तीन कक्षामा अङ्ग्रेजी पढ्न विद्यार्थीलाई पनि कठिन भएको छ भने शिक्षकले समेत पढाउन कठिन मानिरहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot