Logo

निःशुल्क आँखा शिविर



पाल्पा । एकादशी पर्वको अवसरमा पाल्पाको बालीघाटमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा ८७ ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिएको छ । बालीघाट क्षेत्र संरक्षण समितिको आयोजना र बालिघाट स्वास्थ्य एकाइको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो ।

शिविरमा आँखा परीक्षण गर्नाका साथै निःशुल्क रुपमा औषधिसमेत वितरण गरिएको थियो । डा गोपाल खनालसहितको चिकित्स टोली उपचारमा संलग्न रहेको बालीघाट क्षेत्र संरक्षण समितिका अध्यक्ष भानुभक्त ओझाले बताउनुभयो । सो अवसरमा शिविरमा सहयोग गर्ने चिकित्सक टोलीलाई सम्मान गरिएको थियो । “ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखि शिविर सञ्चालन गरेका हौँ,” अध्यक्ष ओझाले भन्नुभयो ।

टोलटोलमा नामाङ्कित पाटी

पाल्पाको रामपुर नगरपालिका–६ ले वडाका टोल तथा बजारका चोकमा नामाङ्कित पाटी राखेको छ । वडामा जाने जोकोही नागरिकलाई टोल र बजार क्षेत्रमा आफू पुग्ने ठाउँको बारेमा अलमलिनु नपरोस् भन्ने उद्देश्यले नामाङ्कित पाटी राखिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।

वडाका विजयपुर बजार, माझटोल, कौवा चोक, सेट्टार, सातबिसे पार्क, गैटार, प्याक्लुक, मिलनचोक, तिलकपुर, चारपोटे, डल्ले चौतारी, किसानटोल, तातोपानी, प्याक्लुक, तालपोखरालगायतका क्षेत्रमा सो सूचना पाटी राखिएको छ ।

“आन्तरिक तथा बाह्य पर्यटकलाई गन्तव्यस्थलमा पुग्न सहज होस् भनेर नामाङ्कित पाटी राख्न थालेका छौँँ”, वडाध्यक्ष न्यौपानेले बताउनुभयो । सो पाटी राख्न वडाले रु ४० हजार खर्च गरेको उहाँले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्