Logo

मिर्गौला फेरे तर पेशा फेरेनन



काठमाडौँ,५ मङ्सिर । चितवनको सौराहाका ४८ वर्षीय दिनेश गिरीलाई पर्यटकलाई चरा देखाउने पेशामा पुनः सक्रिय हुन सकिएला भन्ने आशा थिएन । दुवै मिर्गौलाले काम गर्न छाडेको अस्पतालको रिपोर्ट आएपछि उनी छाँगाबाट खसेजस्तै भए । विसं २०७१ पुसको कुरा हो । “यस्तै रहेछ जीवन भन्ने सोचाइमा डुल्थ्यो मन”, गिरीले त्यो क्षण सम्झँदै भने, “आज पुरानो पेशामा पुनः फर्किन पाए, मैले नयाँ जीवन पाए ।”

चौबीस वर्षअघि पर्यटन क्षेत्रको पथप्रदर्शकको तालीम लिएपछि गिरी जङ्गलमा चरा देखाएर पर्यटक डुलाउने पेशामा लागेका थिए । पेशा चल्दै गर्दा २०७१ पुसमा दुवै मिर्गौलाले काम गर्न छाड्यो । उनले हरेस खाएनन् । घरपरिवारले केही हुन्न भनेर सम्झाइरहन्थे । उनको मिर्गौला फेरियो तर पर्यटकलाई चरा देखाउने पेशा भने फेरिएन ।

गिरी अहिले पनि पहिला जस्तै चराको खोजअनुसन्धान, अनुगमनदेखि पर्यटकलाई चरा घुमाउन जङ्गल जङ्गल धाउने गरेका छन। “बिरामी हुनुअघि र पछिको काममा कुनै फरक छैन,” उनले सुनाए, “मासिक रु १८ हजारदेखि रु २० हजारको औषधि लिएर काममा खटिनुपर्छ ।” यसपटक उनलाई तिहारमा समेत फुर्सद भएन ।

गोबद्र्धन पूजाको दिन उनीआइविसविल चरा देखाउन दुई अष्ट्रेलियन नागरिक क्लाइड र पिटरलाई लिएर मकवानपुरको राप्ती खोला पुगेका थिए । भाइटीकाको दिन दुई हजार ८०० मिटर उचाइमा रहेको पोखराको ठूलोखर्क अष्ट्रेलियन क्याम्पमा पुगेर पर्यटकलाई चरा देखाए। अहिलेको समयमा चरा बसाइँ सरेर सोही बाटो हुँदै नेपाल आउँछन् । चरा हेर्न त्यहाँ ठूलै भीड लाग्छ ।

गिरीले औषधि खान एक कट्ठा जग्गा बेचेर पैसा बैंकमा राखेका छन । उनी त्यसैको व्याजले औषधि खाने गर्दे आएका छन । दुवै मिर्गौलाले काम गर्न छाडेपछि गिरीलाई पर्यटन क्षेत्रमा लागेका स्वदेशी तथा विदेशीले समेत सहयोग गरेका थिए । झण्डै रु १५ लाख खर्च गरेर उनले आफ्नै भाइ टीका गिरीको मिर्गौला प्रत्यारोपण गरेका रहेछन । “अहिलेसम्म कुनै समस्या देखिएको छैन,” उनले जानकारी गराए ।

हिमाली क्षेत्र जाने गिरीले योजना बनाएका छन । मिर्गौला प्रत्यारोपण गरेको एक वर्षपछि उनले आफ्नो कामलाई निरन्तरता दिन थालेका थिए । अहिले प्रायः उनले जङ्गलमै चरा हेरेर समय बिताउने गरेका छन । गिरी भन्छन, “मलाई आत्मविश्वास र परिवारको साथ छ, आत्मविश्वास भयो भने रोगलाई जित्न सकिन्छ भन्ने लाग्छ ।” पर्यटन व्यवसायी शीरलाल परियार उहाँ पुरानै पेशामा फर्किनु नै महत्वपूर्ण कुरा हो उनले सुनाए। सात दाजुभाइका माइला गिरी रोगविरुद्ध आत्मविश्वास जरुरी रहेको सुझाव दिन्छन ।

जुन चरा देखे पनि फरक लाग्ने, उनीहरुका गतिविधि नै नौलो र चाख लाग्ने भएकाले पर्यटक पथप्रदर्शक हुँदैदेखि चरा देखाउने पेशामा आकर्षित भएको उनले बताए । त्यसैले उनी चरा हेर्नकै लागि पर्यटक लिएर ६० जिल्ला पुगिसकेका छन । नेपालमा चरा हेर्नकै लागि आउने पर्यटक धेरै छन् । चराले के खान्छ, कस्तो वनस्पति रुचाउँछ, कहाँ गुँड बनाउँँछ, यी सबै कुरामा पर्यटक केन्द्रित हुन्छन् । कतिपय चरा यती सुन्दर हुन्छन्, त्यो हेरेर नै आनन्द लाग्ने उनले बताए ।

वर्षौँदेखि हेरे पनि हरेक चरा पटकैपिच्छे नयाँ लाग्ने हुन्छ । त्यही भएर पर्यटक नेपाल आउँछन् । चरा अवलोकनकै क्रममा सन् २०१२ मा उनले कोशीमा रेड थ्रोटेट लुन भन्ने चराको अभिलेख गरेको जानकारी गराए । नेपाल चरा पर्यटनका लागि आकर्षक गन्तव्य भए पनि सरकारको ध्यान नपुगेको गुनासो उनको रहेको छ । संरक्षण र प्रचारप्रसार गरी नेपालमा यति धेरै चरा पाइन्छन् भनेर विदेशमा जानकारी दिए चरा पर्यटनको भविष्य राम्रो रहेको उनको प्रतिक्रिया छ ।

गिरीलाई शुरुमा उच्च रक्तचाप थियो । उनी शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्र काठमाडौँमा पुगेर बेलाबेलामा उपचार गरिरहे । त्यो बेला उनी लुम्बिनी बुद्ध गार्डेन होटलमा चराकै क्षेत्रमा काम गरिरहेका थिए । पर्यटक घुमाउने क्रममा २०७१ पुसमा खुट्टा सुन्निने तथा हिँड्न गाह्रो भयो । यस्तै अवस्थामा उनले काठमाडौँ पुगेर चितवनसम्म पर्यटकलाई ल्याई जङ्गल घुमाए ।

त्यसपछि गङ्गालालले किड्नीमा समस्या देखाएपछि वनस्थलीस्थित मिर्गौला प्रत्यारोपण केन्द्रमा परीक्षण गर्दा दुवै मिर्गौलाले काम गर्न छाडेको पुष्टि भयो । “मलाई बाँच्दिन भन्ने लाग्यो,” गिरीले भने, “भाइ टीकाले दाइ नआत्निुस् भनेपछि साहस बढ्यो ।” भाइको मिर्गौला आफ्नोमा प्रत्यारोपण गरिएपछि गिरी पुरानै पेशमा फर्किएका छन।रासस



प्रतिक्रिया दिनुहोस्