Logo

गोर्खा समाधिस्थलको निर्माण अझै जारी



पोखरा । छ वर्षअघिदेखि स्याङ्जामा थालनी गरिएको गोर्खा समाधिस्थलको निर्माण अझै जारी छ । फेदीखोला गाउँपालिका–१ स्थित साल्मेडाँडाको करिव ३०० रोपनी जग्गामा सन् २०१२ देखि सो समाधिस्थलमा निर्माण थालिएको थियो ।

पोखरास्थित स्वतन्त्र पत्रकार सङ्घले बुधबार यहाँ आयोजना गरेको ‘गोर्खा स्मारक, उद्देश्य र उपलिब्ध’ विषयक अन्तरक्रियामा प्रथम विश्वयुद्धमा २० हजार र द्वितीय विश्वयुद्धमा २३ हजार गरी ४३ हजार गोर्खाली सहादत भएकाले तिनको नाम सो समाधिस्थलमा अङ्कित गर्ने उद्देश्यले थालिएको निर्माण अझै पूरा भइनसकेको जानकारी गराइयो ।

उक्त स्थलमा गोर्खा सैनिकको सङ्ग्रहालय, जातीय घरहरु, ६३ मिटर अग्लो टावर र तीन डिब्बे छोटो मार्ग सञ्चालन गर्ने योजना रहेको सो अवसरमा बताइएको थियो । नेपाल सरकारले समाधिस्थल निर्माणका लागिरु पाँच करोड र खानेपानी योजनाका लागि रु ५० लाख उपलब्ध गराएको थियो

समाधिस्थल निर्माण समितिका अध्यक्ष पुरनध्वज गुरुङले दुई वर्षभित्र समाधिस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी गराउँदै ३०० रोपनी क्षेत्रमध्ये ८५ रोपनी जग्गामा समाधिको जग बसाउने कार्य सम्पन्न भइसकेको छ भन्नुभयो । गोर्खा स्मारक कोषका महामन्त्री डा चन्द्रबहादुर गुरुङले गोर्खाली भनेर कहीँ पनि चिहान नरहेकाले समाधिस्थल निर्माण गर्न लागिएको बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्