Logo

सेवाग्राहीको काम होटल र चियापसलबाट



काठमाडौँ,६ मङ्सिर । पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनप्रतिनिधिहरूलाई भने, “वडाध्यक्षहरूले होटल, चिया पसल र सडकमा बसेर नागरिकहरूका काम गरेको पाइएको छ, यसो नगर्नुहोला ।”

“जनप्रतिनिधिहरूले आफ्नै कार्यालयबाट जनताका विभिन्न सिफारिश गर्दा राम्रो हुन्छ, यसरी होटल, चिया पसलमा बसेर गरिएका सिफारिश अब मान्य हुँदैनन्,” प्रजिअको यस्तो भनाइ आएपछि कार्यक्रममा सहभागी वडा नं १२ ठूलीपोखरी, वडा नं १३ खौलालाकुरी र वडा नं १४ का अध्यक्षहरूले टाउको हल्लाएर हुन्छ भन्ने समर्थन जनाउनुभयो । यो प्रतिनिधि विषय मात्र हो ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि पनि पुरानै प्रवृत्ति देखिएको छ । वडाध्यक्षहरू अहिले पनि झोलामा कार्यालयका सबै सामग्री बोकेर सदरमुकामकै होटल तथा चिया पसलबाट नागरिकका काम सिफारिश गर्ने गरेको पाइएको छ । सरकारले गाउँगाउँमा सिंहदरबारको अधिकार प्रत्यायोजन गरेको भए पनि वडाका कार्यालयको सेवा भने सदरमुकाम केन्द्रित नै बनिरहेपछि नागरिकको सास्ती ज्यूँका त्यूँ बनेको हो । वडाध्यक्षहरू सदरमुकाम केन्द्रित बन्दा नागरिकले सहजरूपमा सेवा पाउन नसकेको गुनासो छ ।

राजनीतिक भेला, गोष्ठी, समारोह र व्यवसाय सदरमुकाममा हुने गरेकोले जनप्रतिनिधिहरू सदरमुकाममा नै सम्पर्क कार्यालय खोलेर बस्ने गरेका कारण सेवाग्राही मर्कामा परेको गुनासो आउन थालेको छ । सम्बन्धित स्थानीय तहले पनि कडाइ नगर्दा यो समस्या आएको प्रजिअको ढकालको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्