Logo

सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा मेला सम्पन्न



हरिश चन्दः डडेल्धुरा ६ मंसिर । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देही जाँत’ लक्ष्मी पुँजाको १५ दिनपछि अर्थात यस वर्ष भने कात्तिक शुक्ल पूर्णीमाको रात रतेडी (रातमा लाग्ने) र दोस्रो दिन दिउसेडी (दिनमा लाग्ने) मेला हुने ‘देही जाँत’ बिहीबार सम्पन्न भएको छ ।

खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चार वटै गाँउबाट रतेडी मेलामा बिहान देउरो आए पछि दिउसेडी मेला शुरु हुने अध्यक्ष तेज बहादुर सार्कीले बताए ।

बिहान चार बजे धार्मीक परम्परागत रुपमा दाईन दमाह, रुईसिंग, बिकुल, भोकर, शंक, घण्टा ईत्यादी बाजागाजाका साथ चार वटै गाउबाट माता भगवतीको डोली सहित देउरो उग्रतारा मन्दिरमा पुगे संगै भगवती माताको पुजन शूरु हुन्छ ।

बिहानको पुजा आजापछि दिउसो भगवती माताको गाँज मन्दिर लगायत सयौ एकडमा फैलिएको मैदानको बिषेश चार स्थानमा बाजागाँजाका साथ घुमाईन्छ । बिहान चार वटै गाउको भ्रणबाट ल्याईएको माताभगवतीको देउरो बेलुका पाँच बजे पछि पुनः चारवटै गाउको भ्रणमा लगिमेला सम्पन्न हुन्छ ।

डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर मात्र टाढा अमरगढी नगरपालिका वडा नं. ७ को दशरथचन्द राजमार्ग सँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा परापूर्वकाल देखि मेला लाग्दै आएको छ । सुदूरपश्चिमका नौ वटै जिल्ला लगायत सिमावर्ती भारतको र काठमाण्डौ लयात देशका विभिन्न स्थानबाट  दर्शनार्थीहरु मेलामा पुग्ने गर्दछन ।

यहा दर्शन गर्दा मनोकाँच्छा पुरा हुने विश्वास रहेकाले श्रदालु भक्तजनहरु विभिन्न ठाँउबाट मेला भर्न आउने अध्यक्ष तेज वहादुर साँकीले बताए । किबंदन्ती अनुसार परापूर्वकालमा स्थानीय साँकी जातीका किसानले हलो जोत्दा हलोको फाली शिलामा अडकिएको र त्यसपछि त्यहाँ बाट रगत निस्किएर बगेपछि पछि देवी उत्पन्न भई दर्शन दिएको र आकास वाणी गरेर त्यो ठाँउमा पुजा गर्न भनेको हुँदा त्यस पछि त्यहा उग्रतारा भगवतीको स्थापना गरिएको विश्वासमा त्यस बेला देखि कार्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने परम्परा रहिआएको जनश्रुति छ ।

देहिजाँतको महत्व र रोचक जात्रा के छ भने गाँज नचाउने, देउरो आउने, सुदूरपश्चिमको जनजीवन झल्किने बिभिन्न दृष्यहरु ,ईष्टमित्र ,साथी संगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाँट, सुदूरपश्चिमको लोकप्रिय खाना देहिजाँतमा प्रशस्त देख्न सकिने माँडा, बसाईसराईका कारण पहाड तराईको आवागमन ,भगवतीको गाथाको रुपमा गाईने डेउडा आदी मात्र खेलीदैन उग्रतारा माताको प्रसादको रुपमा कसैले मिठाई त कसैले चाउमिन, जेरी, माँडा, स्थानीय जातका केरा फलफूल, मासु आदीको सहभोज गरि मनाउछन भने स्थानीय लोपोन्मुख उत्पादनको बिक्रि तथा प्रबद्र्धनका लागि पनि मेला प्रसिद्ध रहि आएको छ ।

वर्षमा एक पटक भव्य रुपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने ,सुख प्राप्ती ,मोक्ष र मनोकामना पूरा हुने यस मेलाको आफ्नै मौलिक बिशेषता र यातायातको सुबिधाका साथै व्यबस्थित हुने भएकोले नै दशैंतिहारमा घर आउन न पाएका पनि वर्षेनी मेला भर्न रोजगारीका लागि बिदेशीएका आफन्तहरु घर आउने गर्दछन र देवीको आशिर्वाद लिई गन्तव्य तर्फ जाने भएकाले देहिजाँतको मेलालाई सुदूरपश्चिमबासीहरु पर्व कै रुपमा मान्ने गरेका छन ।

यसतिखेर सुदूरपश्चिम जात्रामय भएको छ,हरेक दिन विभिन्न शक्रिपिठहरुमा मेला लाग्ने गरेका छन । सुदूरपश्चिमको केन्द्रबिन्दु रहेको डडेल्धुरामा प्रमुख मेलाको रुपमा मनाईने भएकोले उग्रतारा मेलाका दिन यातायातका साधनहरुले र भक्तजनहरुको भिडले सदरमुकाम देखि मन्दिर सम्म बाटो भरि घुँईचो लाग्ने गर्दछ ।  तस्वीरः हरिश चन्द



प्रतिक्रिया दिनुहोस्