Logo

इञ्जिनीयरको हत्या आरोपित पक्राउ



काठमाडौँ,६ मङ्सिर । यहाँ एक इञ्जिनीयरको हत्या गरेको अभियोगमा अग्नीसाइर कृष्णसवरण ४ का ५३ वर्षीय श्रीलाल मण्डल पक्राउ परेका छन् । राजविराज निवासी इ हरिनारायण देवको हत्या अभियोगमा फरार मण्डल पक्राउ परेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । साविक बोरिया गाविस ३ स्थित घरमा खाना खाएर सुत्नका लागि राजविराज –६ स्थित घरतर्फ आउने क्रममा घर नजीकै देवको २०६७ पुस १३ गते साँझ गोली हानेर हत्या गरिएको थियो ।

देव राष्ट्रियसभाका सदस्य जीतेन्द्रनारायण देवका दाजु हुनुहुन्थ्यो । झण्डै आठ वर्षमा मण्डल पक्राउ परेपछि मुल्तबीमा रहेको उनिविरुद्धको मुद्दा पुनः चालु हुने भन्दै जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले थुनछेकको आदेशको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । जिल्ला अदालतले २०७१ फागुन ११ गते मण्डलसहित साविक पकरी गाविस ३ का हरेराम यादव, लालापट्टी गाविस २ का अजित सिंह भनिने अजय यादव र प्रसवनी गाविस ८ का अविनाश भनिने उपेन्द्र यादवको अंश रोक्का गरी मुद्दा मुल्तबीमा राखेको थियो ।

यसैगरीे पक्राउ परेका बोरिया ३ का गङ्गाराम यादवलाई सर्वस्वसहित जन्मकैद तथा मोहनपुर ३ का दिलजले भनिने उमेश राम र देवराम भनिने अनिलकुमार यादवलाई जनही पाँच वर्ष कैद सजायको फैसला भएको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध २०७२ असार १६ गते अनिलले र साउन ६ गते गङ्गारामले पुनरावेदन गरेकामा उच्च अदालत जनकपुर राजविराज इजलासले जिल्ला अदालतकै फैसलालाई सदर गर्दै २०७३ कात्तिक १० गते फैसला गरेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्