काठमाडौं ७ मंसिर । सरकारको पहलमा चितवनको कसरामा सुरु भएको गिद्धको प्रजनन विधि भारतलगायत अफ्रिकी मुलुकले पछयाइरहेको विज्ञहरुले बताएका छन् । जैविक विविधता, वन्यजन्तु र चरा संरक्षणमा समुदाय र विभिन्न संघसंस्थाले गरेको प्रयास उदाहरणीय भएको दाबी गरिएको छ ।
इजिप्टको साम एल शेखमा जारी कोप १४ को साइड इभेन्ट कार्यक्रममा बोल्दै नेपाल पन्छी संरक्षण संघ (बीसीएन) की प्रमुख कार्यकारी अधिकृत इसाना थापाले सरकार र समुदायसँग मिलेर दुर्लभ गिद्ध र चरा संरक्षणका लागि गरेको प्रयास ती मुलुकहरुले पछयाइरहेको बताइन् । उनले विश्वमै पहिलो पटक कृत्रिम प्रजनन गराएर गिद्धलाई प्राकृतिक बासस्थानमा छोड्न सफल भएको जनाइन् । थापाले भनिन्, ‘अहिले पनि समुदायमार्फत मुलुकका ६ स्थानमा गिद्ध रेस्टुरेन्ट सञ्चालन गरिरहेका छौं । समुदायले सञ्चालन गरेका त्यस्ता रेस्टुरेन्ट (फिडिङ सेन्टर) मा बीसीएनले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।
यसैलाई अहिले छिमेक भारत र अफ्रिकी मुलुकहरुले समेत पछयाइरहेको थापाले सुनाइन् । सरकार र समुदायसँग मिलेर दुर्लभ चरा र गिद्ध संरक्षणमा विश्वमै उदाहरण बन्न सफल भएका छौं,’ उनले भनिन्, ‘अझै यो यात्रा जारी छ ।’
वन तथा वातवारण मन्त्रालयको निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्टिय प्रकृति संरक्षण कोष र बीसीएनले चितवन निकुञ्जको मुख्यालय कसरामा गिद्धबाट कृत्रिम प्रजनन गराई नवलपरासीको पिठौलीमा दुई पटक प्राकृतिक बासस्थानमा छोडिसकेको छ । प्राकृतिक बासस्थानमा रहेका गिद्ध संकलन गरी कृत्रिम प्रजननमार्फत बच्चा जन्माएर तिनलाई पुन: प्राकृतिक बासस्थानमा छोडिएको विश्वमै पहिलो पटक हो । कान्तिपुरबाट