काठमाडौँ,१० मङ्सिर । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल र ट्र्याक्टर दुर्घटनामा परी एक महिला र एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको औरही नगरपालिका–१ बस्ने ओमकलादेवी चौधरी र ट्र्याक्टर दुर्घटनामा परी मृत्यु हुनेमा गौशाला नगरपालिका–२ का ३ वर्षीय बालक लालु मण्डल रहेका छन् ।
आइतबार साँझ जिल्लाको बर्दिवासबाट जलेश्वरतर्फ आइरहेका ना २३ प ९३६६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ४ प ८५७१ नम्बरको मोटरसाइकल एकापसमा रामगोपालपुर–७ टिकुलियामा ठक्कर खाँदा महिला चौधरीको मृत्यु भएको थियो भने गौशाला नगरपालिका–२ को निगौल सडकमा ज १ त ३४९१ नम्बरको ट्र्याक्टरले सडकमा खेलिरहेका बालक मण्डललाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खडकाले बताउनुभयो ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा गए राति सवारी दुर्घटना हँुदा एकको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।
विनयी त्रिवेणी गाउँपालिका–१ मा लु ३ त ८११३ नम्बरको ट्र्याक्टरमा लु १ ह २१९ नम्बरको अटोरिक्सा ठोक्ँिकदा अटोरिक्सामा सवार विनयी त्रिवेणी गाउँपालिका–४, सर्दी बस्ने १८ वर्षीय वसन्त पल्लीमगरको घटनास्थलमानै मृत्यु भएको हो ।
दुर्घटनामा परी अटोरिक्सामा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय भीमबहादुर सारुमगर घाइते भएका छन् । घाइते सारुमगरको मध्यबिन्दु अस्पताल डण्डामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानिले बताउनुभयो ।रासस