Logo

उपसभापति निधिद्धारा राष्ट्रकविको स्वास्थ्य स्थितिबारे जानकारी-फोटोफिचर



काठमाडौँ,१९ मंसिरराष्ट्रकवि माधवप्रसाद घिमिरेले मुलुकले सही दिशा समातेका कारण समृद्धिका लागि सबैजना मिलेर अघि बढ्न राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन्।

राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन साेमबार बिहान उनकै निवास लैनचौर पुगेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग घिमिरेले मिलेर अघि बढ्न आग्रह गरेका उनको सचिवालयले जनाएको छ ।

परिवर्तनसँगै मुलुक लोकतान्त्रिक समावेशीको सिद्धान्तका आधारमा अघि बढेको र सबै नागरिकले समान अवसर पाएको राष्ट्रकवि घिमिरेको भनाइ थियो। घिमिरेले वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिको योगदानको स्मरण गरेका थिए।

त्यस अवसरमा कांग्रेस उपसभापति निधिले घिमिरेको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै घिमिरेका साहित्यिक कृतिले नेपालको समाजिक र साँस्कृतिक रुपान्तरणमा उल्लेख्य भूमिका निर्वाह गरेको स्मरण गरे। उहाँका कृतिबाट धेरै ज्ञानगुनका कुरा पाउन सकिने भन्दै नेता निधिले आगामी दिनमा नेपाली समाजले घिमिरेबाट थप साहित्यिक सिर्जनाको अपेक्षा राखेको बताए।

नेता निधिसँगको भेटपछि राष्ट्रकवि घिमिरेले आफ्ना साहित्यिक कृति र सम्मान राखिएको कोठामा पुगेर त्यसको व्यवस्थित संरक्षणका लागि पहल गर्न आग्रह गरेका थिए।

कांग्रेस उपसभापति निधिले घिमिरेका कृतिहरु नेपाली समाजको सम्पत्ति भएको भन्दै सँग्रहालय बनाएर त्यसको सँरक्षण गर्न नेपाली कांग्रेसका तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए।फोटोः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्