काठमाडौं । साधारण भाषामा भन्ने हो भने सम्पूर्ण नीतिको पनि नीति हो राजनीति । जसले सबै कुराहरुलाई गाईड गरेको हुन्छ । राजनीतिले सबै क्षेत्रलाई नेतृत्व प्रदान गरेको हुन्छ । वर्तमान समयमा नेपालको राजनीतिले माथि उल्लेखित गरेको मार्गलाई निर्देश गरेको छ त ? आम मानिसलाई यो प्रश्न सोध्ने हो भने राजनीतिलाई कसैले पनि राम्रो भन्दैनन् । प्रायले राजनीतिलाई फोहोरी खेल हो भनेर भन्छ भन्दा अन्यथा हुँदैन ।
बाटो सहि हुँदा मात्रै गन्तव्य भेटिन्छ । बाटोनै अलपत्र छ भने गन्तव्य मरे फेला पार्न सकिदैन । ठिक यस्तै हाम्रो राजनीतिले बाटो बिराएको छ । त्यसैले आजको दिन आईलागेको हो । एकले अर्काको अस्तित्व स्वीकार गर्न सक्ने मानिस छैन् ! आफुले जे गर्छु त्यो सबै ठिक । अरुले गरेका सबैकार्यहरु गलत ! यस्तो संस्कारको विकास हुँदैछ । आफूजस्तो योग्य र राष्ट्रवादी अरु कोही छैन् भन्ने खालका मनोवृति बोकेका मानिसको हातमा सत्ता छ । तर हाम्रो देशमा जनताहरु भने निरासाको चंगुलमा फसेका छन् । किन यस्तो भयो ? के कारणले दुईतिहाईको सरकारले काम गर्न सकेन ? किन सामाजिक सुरक्षा दिन सकेन ? किन विकासको लागि पाईला चाल्न सकेन ? जनताले चाहे अनुरुपको काम गर्नमा सरकार किन चुक्यो ? यस्ता अनेकन प्रश्नले उत्तर खोजिरहेका छन् तर यस्ता प्रश्नको जवाफ दिने कसले ?
राजनीति कि लाजनीति ?
राजनीति जस्तो पवित्र र सर्वप्रिय क्षेत्रलाई धुमिल बनाएर माछा मार्नेहरु देशमा धेरै छन् । राजनीतिलाई लाजनीतिमा परिणत गर्नेहरु उत्तिकै छन् । २१औं शताब्धिमा विश्वका मासिनहरुले धेरै परिवर्तन गरिसकेका छन् । हाम्रै मित्रराष्ट चीन र भारतले ठूलो परिवर्तनसँगै विकास हासिल गरेका छन् । सन् १९४७ सम्म अंग्रेजको उपनिवेशमा रहेको भारत र १९४९ सम्म जापानका शासक, पूँजीपतिहरुको मस्तिको लागि अफिम र सुरा सुन्दरी उत्पादन गर्न बाध्य चीनको वर्तमान अवस्था कहाँ छ रु यसको उत्तर सायद दिनुपर्दैन ।
चीनले आफूलाई कसरी शक्तिशालि राष्ट्रको सूचिमा उभ्याउन सफल भयो ? नेपालले जान्न खोज्ने कि नखोज्ने ? चीनको विशाल प्रगती कसरी सम्भव भयो ? यसको सोझो उत्तर छ । त्यहाँ ईमान्दारीताको राजनीति कर्मीको जन्म भयो । राजनीति कर्मीहरुले राजनीति गरे । हाम्रो देशका नेताहरुले जस्तो राजनीति गरेनन् । चीनमा राजनीति गरे, नेपालमा लाजनीति गरे ।
यसैको परिणाम स्वरुप आजको वेथिति आईलाग्यो । राजनीति पारदर्शी हुन्छ । राजनीति निश्पक्ष हुन्छ । राजनीति पवित्र हुन्छ । तर नेपालमा राजनीतिलाई व्यक्ति, राजनीतिक दल र आसेपासेको भजनकृतन रछ्यान बनाईयो । आफु र आफ्ना भन्दा पर अरु कोही छैन् । भएपनि तिनीहरु मान्छे होईनन् । भन्ने खालको दम्भ देखियो । यस अवस्थामा सम्पूर्ण राजनीतिक दलहरुले नैतिक रुपमा जिम्मेवारी लिएर देशलाई निकास दिनुपर्ने हो । तर त्यो कसैबाट सम्भव छैन् ।
विभक्त भएका राजनीतिक दल र सरकारलाई राम्रो खालको संयोजन गर्ने मान्छेको अभाव छ । मिलाएर अघि बढाउने चेतनाको कमी छ । ईमान्दार राजनीतिक कर्मीहरु छन् तर ति मुखदर्शक भएर बाँचिराखेका छन् । वर्तमान स्थितिमा वाद, विचार र सिद्धान्तलाई खोलामा मिल्काईएको छ । जसरी जन नेता स्व.मदन भण्डारीलाई तिर्सुलीमा मिल्काईएको थियो ! भण्डारी जस्ता नेताहरुलाई खोलामा फालेर उनको विचारलाई पोलेर खान पल्केकाहरुले देशलाई विभन्न शिर्षकमा लुटेर खान किन लाज मान्छन् ?
दोस्रो कार्यकालको लागि राष्ट्रपति बनेकी विद्यादेवी भण्डारी पछिल्लो समयमा निक्कै विबाधित बनेकी छन् । उनका बारेमा कसैले बोल्यो भने सरकारका मन्त्रीहरु बचाउमा उत्रेर किन अपमान गरेको ? भन्न तम्सिन्छन् । मन्त्रीपरिषदका निर्णयहरु लुकाएर सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री राष्ट्रपतिको बचाउमा खरो रुपमा उत्रिन्छन् ।
जहाँ राष्ट्रपति लास बने जस्तो ! शिलतनिवासको आवाज छैन् जस्तो ! गरिब देशकी राष्ट्रपतिले जनताको औकात हेरेर मोज गर्न सक्नुपर्छ भन्ने मान्यताले चेतनशिल नेपालीहरुले उनको बिरोध गरेका हुन । तर सकारका मन्त्रीहरु राष्ट्रपतिको वचाउमा उत्रेर जनतालाई हप्काउदै छन् । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले भने जस्तै कसैलाई हप्काउन पाईदैन, त्यसैमा औकात नभएकाहरुले हप्काउन त झनै सुहाउँदो हुँदैन ।
आलोचनात्मक चेतलाई अपमान ठान्नेलाई सम्मान कसरी दिनु ? किन दिनु ? केको लागि दिनु ? पद अनुसारको व्यक्ति राखेको भएपनि अर्कै कुरा हुन्थ्यो । नेपाली जनताहरु पीडामा छन् । नेपाली जनताहरुलाई अपमान हुने, दुःख हुने, मार पर्ने गरि आफ्नो भलाई र बिलाशिता खोज्नेलाई फूलमाला लिएर सम्मान गर्नुपर्ने ? यो राजनीति होईन यो त महा लाजनीति हो । जनताहरु बिहान खाए भरे के खाउ भन्ने देशमा साशकहरु यति विलाशी किन बन्दैछन् ? यो प्रश्नले उत्तर खोजिरहेको छ ।
मन्त्रीको बचाउकाबीच पछिल्लो समयमा १८ करोडको प्रकरणले राष्ट्रपति भण्डारीलाई अरू बदनाम गरेको स्थिति छ । यसका बारेमा शितलनिवास जानकार छ तर जवाफ दिन चाहन्न । गल्ति पनि गर्ने र जवाफ नदिने रु यसरी सर्वत्र बिरोध हुदापनि चुपचाप बस्नु भनेको जनताको अपमान गर्नु होईन र रु
१ सय ४० रोपनी क्षेत्रफलको शीतलनिवास के कति कारणले अपुग भयो ? १ सय ९३ रोपनी क्षेत्रफल रहेको प्रहरी तालिम प्रतिष्ठान किन चाहियो ? नभए उनलाई नारायणहिटिमा सारे हुँदैन ? १९ करोडको बुलेट प्रुफ गाडिहरु किन चाहियो ? जनताले सोधेका प्रश्नहरु यिनै होईनन् ? यसको जवाफ सरकार र राष्ट्रपतिले दिनुपर्छ पर्दैन ?
भण्डारी कै दबाबमा सरकारले शीतलनिवास विस्तार गरेर सेनामार्फत हेलिप्याड निर्माण अनि राष्ट्रपतिका लागि सवारी खरिद गर्न १८ करोड रुपैयाँ निकासा गरेको छ । यसले सञ्चारमाध्यम, सामाजिक सञ्जाल आदिमा आम आक्रोश बढिरहेको छ । राष्ट्रपति पदको मर्यादा कायम गर्न नसक्नेहरुलाई उक्त स्थान दिदाको परिणाम बाहेक अर्को उत्तर कुनै छैन् ।
राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकार कि हल्लाकार ?
राष्ट्रपतिका हरेक कदमहरुको पछि उनका सल्लाकारहरुको महत्वपूर्ण भूमिका हुन्छ । राष्ट्रिय सभा सदस्य छनोट काण्डकबाट बिवादमा आएकी राष्ट्रपति भण्डारी १८ करोडको काण्डसम्म पुगेकी छन् । २०७२ कात्तिक ११ गते दुईवर्षे कार्यकालका लागि पहिलो पटक राष्ट्रपति निर्वाचित भएकी थिइन् ।
दोस्रो कार्यकाल (४ वर्ष) का लागि उनी २९ कात्तिक ०७४ मा चुनिएकी हुन् । पहिलो र दोस्रो कार्यकाल गरी उनले राष्ट्रपति पदमा ३६ महिना (तीन वर्ष) बिताएकी छन् । यस अवधिमा उनी एक दर्जनभन्दा बढी विवादास्पद काण्डमा मुछिएर सार्वजनिक आक्रोशको सिकार भएकी छन् ।
तर, आफ्ना कमजोरी र गल्तीप्रति मौन बस्ने, जवाफ नदिने प्रवृत्ति भण्डारीमा सुरुदेखि नै देखिएको थियो । आज पनि कायम छ । यस्तो स्थितिमा सल्लाहकारहरुले राम्रो सल्लाह दिन नसकेका हुन या राष्ट्रपतिले सल्लाहकारलाई दबाबमा राखेकी हुन ? त्यसको बारेमा कुनै जवाफ आउँदैन ।
‘शीतलनिवासमा ४ मंसिर ०७५ मा राष्ट्रपतिका चार सहयोगी–सल्लाहकारको बैठक बस्यो । त्यसमा राजनीतिक सल्लाहकार सुशील प्याकुरेल, शिक्षा र निर्माणविज्ञ माधव शर्मा, पुरोहित खेमचन्द्र ढकाल र प्रमुख स्वकीय सचिव भेषराज अधिकारी थिए । त्यो बैठकले राष्ट्रपतिको पक्षमा सरकारलाई प्रतिवादमा उतार्ने, नभए आफैँले प्रतिवाद गर्ने टुंगो गरेको थियो । स्रोतका अनुसार त्यही योजनाअनुसार मन्त्री बाँस्कोटालाई राष्ट्रपतिको बचाउमा उतारिएको हो ।’ यस्ता निर्णणहरुले जनताको अपमान गरेको नहुने ? जनताले बिरोध गर्दा अपमान हुने ? यो कस्तो आचरण हो ?
सरकारका काम कारबाही हेर्ने हो भने पनि राष्ट्रपतिकै हालत छ । दुईतिहाईको सरकारले जनताको अपेक्षाकृत काम गर्न नसकेको सर्वत्र गुनासाहरु छन् । जनताहरुले अनेकन प्रश्न गर्न थालेका छन् । प्रधानमन्त्री केपी ओली सरकार आफ्नो आलोचना गर्नेका बिरुद्धमा कार्यकर्तालाई अरिङगाल बन्न निर्देशन दिन्छ ।
यो कसरी भयो ? किन भयो ? सरकार किन यति लाचार बन्दैछ ? निर्मलाको हत्यारा लुकाउन सरकार किन उद्धत छ ? यसका पछाडी धेरै कारण छन् । सरकारका सल्लाहकारहरु, ब्यापारीहरु, ओलीका आसेपासेहरु, भरौटेहरु, झोलेहरु लगायतले बजाएको तालमा सरकार नाचिरहेको छ । अर्को तर्फ सरकारको बिरोध गर्ने प्रतिपक्ष छैन् भन्दा हुन्छ । स्वस्फुर्त रुपमा जनताहरु बिरोधमा छन् । ईतिहासकै असफल सरकारको मान्यता पाउँदै गरेको ओली सरकारका सल्लाकार हुन या हल्लाकार हुन ? प्रश्न जन्मिएको छ । दुईतिहाईको सरकारले यति निम्छरो हुन पाईन्छ ? नसकिने भए राजीनामा दिएर स्थान खाली गर्नुपर्छ । नत्र यति ठूलो झुट, बेमान, भष्ट्र हुनपाईदैन ।
जनतासँग कर उठाएर नेताहरुले, राष्ट्रपतिले, मन्त्रीहरुले, बिलाशिताको रछ्यानमा मोज गर्न पाईन्छ ? राष्ट्रिय सम्पति निजिकरण गर्ने, कमिसन खाने ? आसेपासेलाई भरण पोशण गर्ने ? सरकारले ‘म भष्ट्रचार गर्दिन’ भन्नुहुन्छ तर सरकारका मन्त्रीहरु सबै भन्दा भष्ट्र बन्दैछन । प्रम ओली सस्तो लोकप्रियताको लागि जे सुकै गर्न तयार देखिनु हुन्छ । सरकारको यो प्रवृति नेपाली जनतालाई स्वीकार्य छ ? यो कदापि छैन । जनताको स्थिति धौ धौमा चलेको छ ।
निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको स्थिति छ । राम्रो कामको सूरुवात मान्न कुनै कन्जुसाई छैन् । तर यति भड्कीलो सस्तो लोकप्रियता देशको लागि आवश्यक होईन । यता सरकारले सामाजिक सुरक्षाको नारा दिएर करोडौंको विज्ञापन गर्दैछ । जनता बिरोधमा उत्रेका छन् । सरकारले त्यो बुझ्नुपर्छ । प्रचार गरेर देशको विकास हुँदैन् । करोडौं खर्च गरेर पत्रिकामा विज्ञापन छापेर समृद्धि आउँदैन । सामाजिक सुरक्षा पत्रिकामा विज्ञापन छापेर हुँदैन । सल्लाकारहरुले सल्ला दिनुपर्यो यसरी हल्लाकार भएर काम छैन् । चेतना भया ।