Logo

पोलिटब्युरो गठनपछि मात्र कार्यविभाजन गर्न माग



काठमाडौं १२ मंसिर । नेकपाका केन्द्रीय सदस्यहरूले पोलिटब्युरो गठन गरेपछि मात्र नेताहरूको कार्यविभाजन गर्न माग गरेका छन् ।

यसअघि पार्टी बैठकको माग गर्दै ज्ञापनपत्र बुझाउने केन्द्रीय सदस्यहरूले मंगलबार अध्यक्ष पुष्पकमल दाहाललाई भेटी पोलिटब्युरो गठन गर्न ध्यानाकर्षण गराएका हुन् । सचिवालयले केन्द्रीय सदस्यहरूलाई कार्यविभाजनको प्रस्ताव तयार गरिरहेको छ । २२ जना केन्द्रीय सदस्यले अध्यक्ष दाहालसमक्ष पार्टीलाई विधि र पद्धतिमा राखेर सञ्चालन गर्नर्ुपर्ने धारणा राखेका थिए ।

पार्टीको बैठक नै नबस्ने, दुई नेता र सचिवालयले मात्र निर्णय गर्ने शैलीले पार्टी पद्धतिलाई कमजोर पारिरहेको उनीहरूको निष्कर्ष थियो ।

अध्यक्ष दाहालले केन्द्रीय सदस्यहरूले उठाएका विषय जायज रहेकाले त्यसमाथि पार्टी नेताबीच छलफल भइरहेको जानकारी दिए । उनले पार्टी नीति र विधिअन्तर्गत नै चल्ने र चलाउने बताउँदै फरक ढंगले नसोच्न नेताहरूलाई आग्रह गरे ।

‘पार्टी एकता र सरकारलाई सफल बनाउने र समाजवादमा पुग्ने लक्ष्यमा सबै लाग्नुपर्छ, तपाईंहरूले उठाउनुभएका विषय पनि जायज छन्, त्यसलाई सम्बोधन गर्नुपर्छ,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य ठाकुर गैरेले भने ।

पार्टी सचिवालयको बैठकमा केन्द्रीय सदस्यहरूले उठाएको विषयमा नेताहरूले चासो दिएको पनि दाहालले जानकारी दिए । अध्यक्ष दाहालले पार्टी एकताको कामलाई छिट्टै पूरा गरी नयाँ गतिमा अघि बढ्ने प्रतिबद्धता जनाए ।

केन्द्रीय सदस्यहरूले कार्यविभाजनको मापदण्ड बनाउन, सामूहिक नेतृत्व र उत्तरदायी परिपाटी बसाउन दाहाललाई आग्रह गरे । तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत जेठमा एकता भए पनि अहिलेसम्म तल्लो तहमा एकताले पूर्णता पाएको छैन । एकीकरणपछि पार्टीका बैठकहरू पनि नियमित बसेका छैनन् ।

त्यसैले अधिकांश केन्द्रीय नेताहरू जिम्मेवारीविहीन छन् । केन्द्रीय समिति र स्थायी समितिको बैठक नै नबसेपछि गत सातादेखि केन्द्रीय नेताहरू शीर्ष नेतालाई दबाब दिन अभियान नै सञ्चालन गरेर हिँडेका छन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्