काठमाडौँ,१२ मंसिर । नर्वेली रेडक्रसले नेपाल रेडक्रस सोसाइटीलाई आगामी दिनमा विपद् व्यवस्थापन एवं मानवीय सेवाका विविध क्षेत्रमा आफ्नो सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ । नर्वेली रेडक्रसले नेपाल रेडक्रसलाई मानवीय सेवामा सहयोग गरेको ३३ वर्ष पूरा भएको छ । सोसाइटीका अध्यक्ष सञ्जीव थापा र नर्वेली रेडक्रसका उपाध्यक्ष मोर्टेल स्टोल्डेलबीच द्विपक्षीय साझेदारीसम्बन्धी सम्झौतापत्रमा आज यहाँ हस्ताक्षर भएको छ ।
उपाध्यक्ष स्टोल्डेल नर्वेली रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा सोसाइटीले भूकम्पपछि गरेका पुनःनिर्माणका कार्यको स्थलगत जानकारी लिने क्रममा हाल नेपाल भ्रमणमा हुनुहुन्छ । साझेदारीसम्बन्धी सम्झौतापत्रमा मुख्यरूपमा विपद् व्यवस्थापन र प्रतिकार्य, क्षमता विकास, स्रोत व्यवस्थापन, रेडक्रस युवा विनिमय, स्वास्थ्य कार्यक्रम सञ्चालनसम्बन्धी व्यवस्था समावेश छन् । नर्वेली रेडक्रसको सहयोगमा सोसाइटीले सन् १९९७ देखि सामुदायिक विकास कार्यक्रम र सन् २००६ देखि रेडक्रस युवा विनिमय कार्यक्रम सञ्चालन गर्दैआएको छ ।
सो अवसरमा सोसाइटीका अध्यक्ष थापा, महामन्त्री देवरत्न धाख्वा, उपमहामन्त्री हरि न्यौपानेले विपद् व्यवस्थापन र प्रतिकार्यमा सोसाइटीले अग्रणी भूमिका निर्वाह गरिराखेको चर्चा गर्नुभयो । नर्वेली रेडक्रसका उपाध्यक्ष स्टोल्डेलले अगामी दिनमा नेपालमा मानवीय सेवाका क्षेत्रमा सहयोगलाई निरन्तरता दिने जानकारी दिनुभयो ।
यहाँस्थित नर्वेली राजदूतावासका राजनीतिक सल्लाहकार ट्रोन लबदल, रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख जुजाकिम तथा रेडक्रसको अन्तर्राष्ट्रिय समितिका नेपाल सहयोग प्रतिनिधि प्रमेश पौडेलले दुई संस्थाबीचको साझेदारीले विपद् प्रतिकार्य र मानवीय सेवामा थप गतिलिने विश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा दुई संस्थाको सहकार्यका ३३ वर्ष गतिविधि समेटिएका पुस्तक ‘हाम्रो यात्रा’ ९आवर जर्नी० सार्वजनिक गरिएको थियो । विनाशकारी भूकम्पछि नर्वेली रेडक्रसले सोसाइटीको समन्वयमा सिन्धुपाल्चोकमा ‘फिल्ड’ अस्पताल सञ्चालन गर्नुका साथै क्षति भएका स्वास्थ्य संस्थाको पुनःनिर्माणमा सहयोग गरेको थियो । रासस