घोराही, १३ मङ्सिर । तराईका पाँच जिल्लामा घरेलु कामदारका रूपमा बसेका ७९ कमलरीलाई मुक्त गर्न सम्बद्ध व्यक्तिहरूले आग्रह गरेका छन् । लामो समयसम्म मालिकको कमलरी बसेर मुक्त भएका कमलरीहरूले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल दाङ आउनुभएको मौकामा उक्त आग्रह गरेका हुन् ।
सरकारले विसं २०७० असार १३ गते कमलरी मुक्तिको घोषणा गर्नाका साथै आन्दोलनमा उत्रिएका कमलरीसँग १० बुँदे सम्झौता पनि ग¥यो । उक्त सम्झौतापत्रमा दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न व्यक्तिको घरमा कमलरी बसेकालाई यथाशक्य चाँडो उद्धार गर्नुपर्ने बुँदा उल्लेख भएपनि अझैसम्म कार्यान्वयन नहुँदा अझै ७९ थारू बालिका कमलरी बस्न बाध्य छन् ।
मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले अझै पनि तराईका जिल्लामा थारू चेली कमलरीको रूपमा मालिकको घरका काम गरिरहेकोे मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको थियो । उहाँका अनुसार कञ्चनपुरमा छ, कैलालीमा २२, बर्दियामा २९, बाँकेमा चार र दाङमा १८ थारू बालिका बालश्रमिकको रूपमा मालिकको घरमा काम गरिरहेका छन् ।
अध्यक्ष चौधरीले वेपत्ता कमलरीको अभिलम्ब खोजी गरी उद्धार गर्न, मालिकको यौनशोषणबाट कुमारी आमा बनेकालाई न्याय दिन र कमलरीमाथि भएका घरेलु हिंसा तथा यौन हिंसाकाका पीडिकलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा पनि जोड दिइएको बताउनुभयो । मागपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले आफूले कमलरीको समस्या सम्बोधनका लागि पहल थाल्ने आश्वासन दिनुभएको थियो । रासस