काठमाडौँ,१३ मंसिर । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प औद्योगिक राष्ट्रहरुको समूह–२० ९जी२०० को बैठकमा भाग लिन बिहीबार अर्जेन्टिना जाने कार्यक्रम रहेको जनाइएको छ । यो बैठकमा राष्ट्रपति ट्रम्पले व्यापारसम्बन्धी चीनसँगको विवाद र युक्रेनमाथि रुसले गरेको अतिक्रमणलाई मुख्यरुपमा उठाउने अनुमान गरिएको छ ।
यसैसाताको अन्त्यतिर हुने बैठकमा विश्वको वित्तीय सङ्कटका विषयमा अमेरिकी प्रशासनको रबैयाविरुद्ध मोर्चाबन्दी हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफ समेतका विश्वस्तरीय विभिन्न निकायले अमेरिकी नीतिले विश्वको व्यापार र आर्थिक विकासमा मन्दी आउने चेतावनी दिइआएका छन् ।
विश्वको कूल आर्थिक उत्पादनको झण्डै ८० प्रतिशत हिस्सा ओगटेका प्रमुख २० राष्ट्रका नेताहरु विश्वका आर्थिक सङ्कटसँग जुध्न सन् २००८ नोभेम्बरमा भेला भएका थिए । तर अमेरिका प्रथम भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको नीतिसँगै उक्त एकतामा सङ्कट आएको छ । खासगरी, ब्राजिल, इटाली र मेक्सिकोजस्ता देशहरुमा प्रचारमुखी नेताहरु चुनिएका कारण पनि जी२० समूहमा अन्यौल कायम छ ।
ट्रम्पले चिनीया आयातमा करवृद्धि गरेसँगै विश्व बजारमा हलचल उत्पन्न भएको छ । उनले आगामी जनवरी २०१९ मा थप करवृद्धि हुने चेतावनी दिएका थिए। राष्ट्रपति ट्रम्पले चिनीया राष्ट्रपति सी जिनपिङसँग हुने भेटका क्रममा चीनमाथि आफ्नो बजार अझ खुला गर्न दबाब दिने अपेक्षा गरिएको छ ।
बुधबार अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजरले बेइजिङले अर्थपूर्ण सुधारका कुनै कदम नचालेको आरोप लगाउँदै चिनीया सवारी साधनमाथि थप करवृद्धि गर्ने चेतावनी दिए।
यहीबीच राष्ट्रपति सीले बौद्धिक सम्पत्तिको सुरक्षामा चीनले थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । तर चीनमा रहेका विदेशी कम्पनीहरुले चिनीया प्रतिबद्धता नित्यकर्मजस्तै भएको तर कार्यान्वयन हुने नगरेको बताएका छन् ।
यहीबीच, संयुक्तराज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संशोधित उत्तर अमेरिकी व्यापार सम्झौता युएसएमसीएमा शुक्रबार हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । यो सम्झौता लगत्तै राष्ट्रपति ट्रम्पले विदेशी कारको आयातमा करवृद्धि गर्ने, युरोप र खासगरी जापानमाथि थप दबाब दिने सम्भावना रहेको छ ।
जी२०को बैठक अघि प्रकाशित प्रतिवेदनमा आइएमएफले सवारी साधनमा हुने करवृद्धिले विश्व अर्थतन्त्रमा करिब २५ प्रतिशतले मन्दी आउने उल्लेख गरेको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन ब्रेक्जिटले विश्वको आर्थिक वृद्धिमा पनि असर पार्नेछ, आइएमएफका प्रमुख क्रिस्टिन लागार्डले बताए ।एजेन्सी