Logo

एसिया प्यासिफिक सम्मेलन आजदेखि : ४५ देशका झण्डै १५ सय प्रतिनिधि



काठमाडौं १४ मंसिर ।  एसिया प्यासिफिक सम्मेलन आज शुक्रबारदेखि काठमाडौंमा सुरु हुन लागेको छ । सम्मेलन मा सहभागि हुन विभिन्न राष्ट्रका राष्ट्र प्रमुख तथा प्रतिनिधिहरु आउने क्रम जारी छ ।   दक्षिण कोरियामा रहेको अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल च्याप्टरले आयोजना गरेको सम्मेलनमा विभिन्न ४५ देशका झण्डै १५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।

विभिन्न देशका सरकार प्रमुखसहित यति धेरै प्रतिनिधि बोलाएर हुन लागेको यो सम्मेलन नेपालमै पहिलो पटक हुन लागेको ठूलो अन्तर्राष्ट्रिय सम्मेलन भएको आयोजकको दावी छ ।  शुक्रबारदेखि सुरु हुने सम्मेलन आत्मनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापी मूल्य मान्यताका विषयमा केन्द्रित हुने बताइएको छ । सम्मेलनको मूल एजेण्डा भने गरिबी, आतंकवाद, खाद्य, सुरक्षा र जलवायु परिवर्तन रहने आयोजकले जनाएको छ ।   शुक्रबारदेखि सुरु हुने सम्मेलन सोमबार काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै सकिने छ ।

शुक्रबारदेखि सुरु हुन लागेको सम्मेलनमा विभिन्न ४५ देशका झण्डै १५ सय प्रतिनिधि सहभागि हुँदै छन् । सम्मेलनमा सहभागी हुन फिलिपिन्सका उपराष्टपति लोनी रोड्रेबो, बुधबार नै काठमाडौं आइसक्नु भएको छ । यस्तै म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार काठमाडौं आइपुग्नु भएको छ । अन्य देशका राष्ट्रप्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरु पनि आउने क्रम जारी छ ।

सम्मेलनमा पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी, अफगानिस्तानका पूर्व उपराष्ट्रपति, कोलाम्बियाका पूर्व राष्टपति, इन्डोनेसियाका संसद प्रमुख, टोंगा सरकारका प्रवक्ता, फिजीका सभामुख पनि सम्मेलनमा सहभागी हुने बताइएको छ ।

यस्तै पोलिनिसिया मुलुक सामोआका प्रमुख, दक्षिण प्रशान्त सागरमा रहेको मुलुक टुभालुका सरकार प्रमुख, माइक्रोनेसिया मुलुक नाउरुका राष्ट्रपति बरुना वकासहित एसिया प्रशान्त देशका उच्च अधिकारी सम्मेलनमा सहभागी हुने आयोजकले जनाएको छ ।

क्रिश्चियन धर्म प्रचारका लागि कार्यक्रम गरिएको भन्ने चर्चा हुन थालेपछि आयोजक संस्थाले कार्यक्रममा क्रिश्चियन मात्रै नभई सबै धर्मका गुरुहरुलाई समेत निम्ता गरेको छ ।



प्रतिक्रिया दिनुहोस्