Logo

अन्नपूर्ण आधार शिविरमा मुख्यमन्त्री



काठमाडौँ,१४ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज अन्नपूर्ण आधार शिविरको स्थलगत अवलोकन गरेका छन।हिमाल आरोहणको इतिहासमा सबै भन्दा जेठो हिमालका रुपमा चिनिएको अन्नपूर्ण प्रथमको फेदीमा अवस्थित आधार शिविर र त्यहाँका वातावरणीय पक्ष, पर्यटकको आगमन लगायतका विषयमा बुझ्न मुख्य मन्त्री गुरुङ सो स्थानमा पुगेका हुन।

अवलोकन पश्चात उनले पर्याप्त पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको प्रवद्र्धन एवं विकासलाई सरकारले प्राथमिकतामा राख्ने बताए । वातावरणीय संरक्षणका साथै आवश्यकतालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध भएको उनको भनाई रहेको थियो ।

मुख्यमन्त्री गुरुङलाई अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले वातावरणीय संरक्षण, गाउँपालिकाले गरिरहेका प्रयासका बारेमा जानकारी गराए ।कुँवरले हिम चट्टानको संरक्षण, पदमार्गको संरक्षण र विकास, वातावरण संरक्षण लगायतका विषयमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराए ।

अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले अन्नपूर्ण पदमार्ग क्षेत्र, अन्नपूर्ण आधार शिविरको प्रचारप्रसार र यसको महत्वलाई उजागर गराउन वार्षिक कार्यक्रमका साथ महोत्सव सम्पन्न गरिएको बताए । उक्त अवसरमा अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव आयोजक समितिको पहलमा आधार शिविरस्थलमा राखिएको प्रथम हिमाल आरोही मौरिस हर्जोगको सालिक सम्बन्धमा पनि जानकारी गराइयो ।

छोम्रोङ पर्यटन व्यवसायी समितिका उपाध्यक्ष जगनबहादुर गुरुङले आधारशिविरमा विद्युतको केन्द्रीय प्रशारणलाइन जोड्नुपर्नेमा जोड गरे। केन्द्रीय लाइन जडानका साथै सौर्य ऊर्जा र हावाबाट बिजुली निकाल्न सके यहाँ आउने पर्यटकलाई राम्रो सेवा सुविधा दिन सकिने उनले जनाए ।

सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मौरिस हर्जोेगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेसँगै अन्नपूर्ण आधार शिविर विश्वव्यापी चासो र चर्चाको विषय बनेको छ । अन्नपूर्ण हिमाल आरोहण गर्न आएको टोलीको चहलपहलसँगै त्यसै बेलादेखि पोखराको पर्यटकीय विकासको यात्रा शुरु भएको मानिन्छ ।

अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मई २९ तारिखको दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।रासस



प्रतिक्रिया दिनुहोस्