Logo

नागरिकता ऐन संशोधन विधेयक : आमालाई वंश मान्न सांसदको दबाब



काठमाडौं १५ मंसिर । महिला सांसदले नागरिकता वितरण प्रक्रियामा आमालाई पनि वंश मान्नुपर्ने आवाज उठाएका छन् । वंशज नागरिकतामा पितालाई मात्रै महत्त्व दिइएको प्रति उनीहरूको आपत्ति छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता ऐन २०६३ को संशोधन विधेयकमाथि छलफलमा महिला सांसदले ‘वंश भनेको बाबु मात्रै हो, आमाको होइन’ भन्ने मानसिकताबाट मुक्त भएर नयाँ नागरिकता ऐन संशोधन गर्न सुझाए । प्रस्तावित विधेयकमा आमाको नामबाट नागरिकता बनाउँदा बाबुको पहिचान नभएको पुष्टि हुनुपर्ने, बाबु विदेशी भएको ठहरे नागरिकता रद्द हुनेजस्ता सर्त राखिएको छ । महिला सांसदले त्यस्ता प्रावधान खारेजी माग गर्दै आमाको नामबाट सहजै वंशज नागरिकता प्राप्तिको व्यवस्था मिलाउन विधेयकमा संशोधन हालेका छन् ।

सांसद विन्दा पाण्डेले सन्तानको वंश आमा पनि भएकाले त्यसमा स्पष्ट दृष्टिकोण लिएर नयाँ ऐन–कानुन बनाउनुपर्ने बताइन् । ‘छोराछोरीको हकमा आमा र बाबु समान हैसियत हो कि होइन ?’ उनले भनिन्, ‘कानुन र संविधानको नजरमा पनि सबै नागरिकलाई समान भनिएको छ । त्यस्तो हो भने आमाको नामबाट नागरिकता बनाउने विषयमा धेरै व्यवधान किन ?’

बाबु विदेशी रहेको पहिचान भएको तर बाबुको नामबाट विदेशी नागरिकता नलिएको भए आमाको नामबाट लिइसकेको वंशज नागरिकता अंगीकृतमा परिणत हुने प्रस्तावप्रति उनले आपत्ति जनाइन् । पाण्डेसहित ७ जनाले उक्त प्रावधान हटाउन संशोधन हालेका छन् ।

संविधानको धारा ११ (२) को (ख) मा कुनै व्यक्तिको जन्म हुँदा निजको बाबु वा आमा नेपाली नागरिक रहेको पुष्टि भए वंशज नागरिकता पाउन सक्ने उल्लेख छ । त्यही धाराको उपधारा ५ मा नेपाली आमाबाट जन्मिई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नागरिकता पाउने प्रावधान छ । त्यस्तै, संविधानको धारा ३८ ले महिलालाई समानवंशीय हक हुने भनेको छ ।

सांसद रेखा शर्माले महिला र पुरुषबीचको विभेद पूर्ण रूपमा नहटाइए पनि संविधानले गरेको न्यूनीकरण प्रयासलाई कानुन बनाउने बेला विचार गरिनुपर्ने उल्लेख गरिन् । ‘संविधान संशोधन नभएसम्म कानुन बनाउँदा संविधानको प्रगतिशील धारालाई टेकेर जाँदा राम्रो हुन्छ,’ उनले भनिन्, ‘वंश र अंशमा महिलालाई समानताको अधिकार दिने संविधानको भावना आत्मसात् गर्नुपर्छ ।’

सांसद यशोदा गुरुङ सुवेदीले नागरिकता विधेयकमा महिलालाई विभेद गरिएको बताइन् । सांसद पवित्रा निरौला खरेलले सन्तानका लागि बाबु र आमा दुवै वंश हुन् भन्ने विषयलाई प्रस्तावित विधेयकमा विभेद गरिएको आरोप लगाइन् । ‘वंशको हक आमाले पनि पाउनुपर्छ, आमाका नामबाट सन्तानले सहजै वंशज नागरिकता पाउनुपर्छ, यो वा ऊ सर्त राखेर विभेदपूर्ण व्यवहार गर्न खोजिएको छ,’ उनले भनिन् । सांसद मीना पाण्डेले नागरिकताको विषयमा लैंगिक सामानताको व्यवहार लागू गरिनुपर्नेमा जोड दिइन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्