Logo

‘कम्युनिकेशन अवार्ड–२०१८’ डा वाग्लेलाई



काठमाडौँ, १५ मङ्सिर । यस वर्षको ‘कम्युनिकेशन अवार्ड–२०१८’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेलाई प्रदान गरिएको छ ।

नेपाल टोस्टमास्टर्सले आज यहाँ आयोजना गरेको आफ्नो पहिलो डिभिजन सम्मेलनका अवसरमा सो सम्मान पहिलो पटक गैर टोस्टमास्टर सदस्य डा वाग्लेलाई प्रदान गरिएको हो । नेपालमा टोस्टमास्टर्सको गतिविधि बढिरहेको सन्दर्भमा नेपाल टोस्टमास्टर्सले १४ क्लब र करीब ५०० सदस्यका साथमा पहिलो पटक डिभिजन सम्मेलन आयोजना गरेको हो । टोस्टमास्टरले आमसभालगायत भाषणलगायत गोष्ठीमा उद्घोषण, वक्ता परिचय र सहजीकरणजस्ता काम गर्छ ।

पाँच सय सदस्यमध्ये २५० सदस्य नेपालका कर्पोरेट, बैंकर, व्यावसायिक व्यक्तित्व, शिक्षक, पर्यटक, उद्यमी, कार्यकारी, सल्लाहकार, मिडिया व्यक्तित्व र कार्यरत व्यवसायीदेखि कलेजका युवा विद्यार्थी थिए । बाँकी भारतलगायत मुलुकबाट सहभागिता छ । ‘सिक्नु, नेतृत्व गर्नु र लाभ उठाउनु’ भन्ने मूल नारासहित शुरु भएको सम्मेलन आज दिनभरि चल्नेछ ।

कार्यक्रममा नेपालका डिभिजन निर्देशक तथा विशिष्ट टोस्टमास्टर्स रञ्जित आचार्य र एशोसिएट क्लब ग्रोथका निर्देशक तथा प्रतिष्ठित टोस्टमास्टर सुमन शाक्यले सम्मेलनले नेपालका अन्य शहरमा पनि टोस्टमास्टर्स विस्तार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्