काठमाडौं १६ मंसिर । सडकले नछोएको हुम्लामा खाद्यान्न ढुवानी गर्न हेलिकप्टर सञ्चालकले मानेका छैनन् । खाद्य संस्थानले ढुवानीका लागि आहवान गरेको टेन्डरमा कुनै पनि कम्पनीले भाग लिएनन् । हुम्लाको सिमकोट सदरमुकामसम्म खाद्यान्न ढुवानी गर्न खाद्य संस्थानले तीन पटक टेन्डरका लागि सूचना प्रकाशित गरे पनि उनीहरूले इच्छा नदेखाएका हुन् ।
संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार पहिलो टेन्डरको क्रममा दुई कम्पनीले आवेदन दिएका थिए । ती कम्पनीहरूले ढुवानी खर्च अस्वाभाविक राखेका थिए । अस्वाभाविक मूल्यकै कारण आवेदन रद्द भएको थियो । ‘त्यसपश्चात् पुन: दुई पटक सूचना प्रकाशित गरियो,’ प्रवक्ता सापकोटाले भने, ‘कम्पनीहरूले इच्छा देखाएनन् । ढुवानीका लागि आवेदन नै दर्ता गराएनन् ।’
सापकोटाका अनुसार संस्थानले गत वर्षकै ढुवानी दर सुर्खेतबाट हुम्लासम्म प्रतिकिलो १ सय ५ रुपैयाँ र नेपालगन्जबाट १ सय १४ रुपैयाँ राखेर पहिलो सूचना असार २६ गते प्रकाशित गरेको थियो । ३० दिनको अवधि तोकिएको उक्त सूचनामा तारा र समिट एयरले आवेदन दिएका थिए । ती एयरलाइन्सहरूले सुर्खेतबाट हुम्लासम्म १ सय १३ रुपैयाँ र नेपालगन्जबाट १ सय २३ रुपैयाँ प्रस्ताव गरेका थिए । ढुवानी खर्च अस्वाभाविक भएको जनाउँदै संस्थानले पुन: १५ दिनको अवधि दिएर भदौ १८ गते टेन्डर आहवान गरेको थियो । दोस्रोमा कुनै पनि एयरलाइन्सले आवेदन दिएनन् । त्यसपश्चात् संस्थानले पुन: कात्तिक ९ गते ७ दिनको अवधि दिएर तेस्रो पटक सूचना प्रकाशित गरेको थियो । कम्पनीहरूले तेस्रो पटक सूचना प्रकाशित गर्दा पनि ढुवानी गर्न इच्छा देखाएनन् ।
वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले ढुवानी खर्च थोरै भएर आवेदन नदिएको बताए । संस्थानले पुन: टेन्डर आहवान गर्ने प्रक्रियामा रहेकाले त्यसपश्चात् आवेदन दिने बताए । संस्थानले घाटा नहुने गरी ढुवानी गर्ने वातावरण बनाए एयरलाइन्सहरू तयार रहेको उनले बताए । ‘एयरलाइन्सको कमर्सियल बिजनेस हो । बिजनेसमा खर्च उठ्ने गरी टेन्डर हाल्नुपर्यो । व्यावसायिक उडान गर्दा व्यवसायी नै मर्ने देखियो । खर्च नै नउठ्ने गरी समाज सेवा गर्न सकिँदैन,’ गीता एयरलाइन्सका महाप्रबन्धकसमेत रहेका आर्चायले भने, ‘छलफलका क्रममा संस्थानले खर्च उठ्ने गरी टेन्डर आहवान गर्ने कुरा भएको छ । अब एयरलाइन्सहरू समावेश हुन्छन् ।’
संस्थानका अनुसार टेन्डर प्रक्रियामा जाँदा टेन्डरका लागि सुरुमै धितो धरौटी राख्नुपर्छ । टेन्डर स्वीकृत भएपछि धरौटीको रकम दोब्बर राख्नुपर्छ । समयमै काम नगरे धेरैटी रकम जफत हुन्छ । त्यसैले टेन्डरमा इच्छा नदेखाएको हुन सक्ने संस्थानका अधिकारीहरू बताउँछन् । नेपालगन्जदेखि हुम्लासम्म ढुवानीका लागि धरौटी रकम ९ लाख ७४ हजार रुपैयाँ छ । सुर्खेतदेखि हुम्लासम्म २१ लाख ७५ हजार रुपैयाँ धरौटी छ । आवेदन स्वीकृत भएको अवस्थामा कम्पनीहरूले दोब्बर राख्नुपर्छ । कान्तिपुरबाट