काठमाडौं, १६ मंसिर । फ्रान्समा भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राजधानी पेरिसमा विगत तीन हप्तादेखि भएको प्रदर्शनले उग्र रुप लिएको छ ।
चम्किलो पहेँलो रङको ज्याकेट लगाएका प्रदर्शनकारीहरुले सार्वजनिक स्थानमा आगजनीसमेत गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन पुलिस र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनका क्रममा १ जनाको ज्यान गएको छ भने कम्तीमा १ सय १० घाइते भएका छन् । प्रहरीले २ सय ६० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
आगजनी गरिरहेका प्रदर्शनकारीलाई पुलिसले अश्रु ग्यास, स्टन ग्रेनेड र पानीको फोहोरा प्रहार गरेको छ । उग्र प्रदर्शन गरेको भन्दै फ्रान्सका प्रधानमन्त्री एडवाडे फिलिपले विरोध प्रदर्शनको निन्दा गरेका छन् । उनले प्रर्दशनका नाममा सार्वजनिक सम्पत्तिमाथि तोडफोड गरेकाले प्रदर्शनकारीलाई माफी नदिने बताएका छन् ।
फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यमा पछिल्लो १२ महिनामा २३ प्रतिशतले वृद्धि भएपछि जनतामा आक्रोश बढेको छ । तर फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोले सरकारले इन्धन करमा गरेको वृद्धि फिर्ता नगर्ने बताएका छन् । एजेन्सी