Logo

सांसदको प्रश्न, ‘मेलम्चीको पानी उपत्यकावासीले कहिले पिउन पाउँछन् ?’



काठमाडौं १७ मंसिर ।  संसदको विकास तथा प्रविधि समितिमा बोल्ने अधिकांश सांसदको आइतबार एउटै प्रश्न थियो, ‘मेलम्चीको पानी उपत्यकावासीले कहिले पिउन पाउँछन् ?’ । ‘पटक–पटक झुक्याउने काम भयो, मन्त्रीज्यूले दसैंमा खानेपानी उपहार दिने घोषणा गर्नुभएको थियो’ सांसद गणेश पहाडीले भने, ‘अझै अन्योलता छ ।’

खानेपानी तथा सरसफाईमन्त्री विना मगरले मेलम्ची पानी आउने समय पटक–पटक निर्धारण गरेर आफूहरुलाई झुक्याएको अधिकांश सांसदले आरोप लगाए। सांसद पहाडीले मेलम्ची पानी आउने मिति तय गर्न माग गरे। त्यसैगरी करोडौ रुपैयाँ अनियमिततामा मुछिएका खानेपानी संस्थानका महाप्रवन्धक भूपेन्द्रप्रसादलाई खानेपानी सचिव गजेन्द्र ठाकुरले जोगाएको उनले आरोप लगाए।

बैठकमै महाप्रबन्धक भूपेन्द्रलाई बोल्न लगाएर सचिव ठाकुरले बुटवल र नेपालगंज खानेपानीको जीआइ पाइपलगायतको सामग्री खरिदमा २५ करोड रुपैयाँ अनियमितता भएकोबारे स्पष्ट पार्न निर्देशन दिए। त्यसपछि सांसद पहाडीले आक्रोशित हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिररहेको मुद्दामा भूपेन्द्रले बोल्न नहुने दाबी गरे। ‘सविचज्यू मन्त्रालले अनियमिताबारे दुईटा छानबिन समिति गठन गरेको छ, अख्तियारले छानबिन गरिराखेको छ’ उनले भने, ‘तपाईले भूपेन्द्रलाई जोगाउन खोजेको हो? के यो मिनि सांसदको अपमान गरेको हो?’।

सांसद राजेन्द्र राईले मेलम्ची आउने मिति तत्काल तय गर्न माग गरे। सचिव ठाकुरले मेलम्चीको प्रगतीबारे हल्का ढंगले प्रस्तुत गरेको आरोप लगाए। ‘राष्ट्रिय गौरवको आयोजनालाई हल्का ढंगलले सोच्न हुन्न’ उनले भने, ‘विकास निर्माणका कामलाई अलि गम्भीर ढंगले सोच्नु पर्‍यो।’ खानेपानी तथा सरसफाईमन्त्री समितिमा उपस्थित नहुँदा विकास समितिको अपमान भएको उनले बताए।

‘समितिको बैठकमा सम्बन्धित मन्त्रालयको मन्त्री अनिवार्यरुपमा बोलाउनपर्छ सभापतिज्यू’ उनले भने, ‘सचिवले जवाफ दिएर पन्छने प्रवृत्तिको अन्त्य गर्नुपर्छ।’ पूर्वप्रधानमन्त्री एवं सांसद झलनाथ खनालले मेलम्चीको प्रगती हेर्दा दुई महिनाभित्र पानी नआउने दाबी गरे। ‘दुई महिनाभित्र पानी आउँछ भन्ने आधार के?’ उनले भने, ‘मन्त्री समितिको बैठकमा आउनपर्थ्यो, नआउनको कारण के हो, यो राम्रो होइन।’ पूर्वसहरी विकासमन्त्री एवं सांसद प्रभु साहले मेलम्ची कहिले फागुन, कहिले दसै‌मा पानी आउँछ भनेर राजनीतिक नेतृत्वलाई कर्मचारीले गुमाराहमा राख्ने गरेको आरोप लगाए। ‘स्पष्ट रुपमा भन्नु पर्‍यो, पानी कहिले आउँछ?’ उनले भने, ‘पटक–पटक झुक्याउने कर्मचारीलाई कारवाही गरिनुपर्छ।’
मेलम्चीको पानी उपत्यकामा चैत्रभित्र आउने सचिव ठाकुरले दाबी गरे पनि सांसद साहको आंशका छ। ‘ठेकेदार कम्पनीले क्षतिपूर्ति स्वरुप दाबी गरेको ३५ करोड रुपैयाँ दिने/नदिने सरकार स्पष्ट छैन’ उनले भने, ‘नदिए ठेकेदार कम्पनीले काम ठप्प पार्ने चेतावनी दिएको छ, कसरी आउँछ चैत्रभित्र पानी?’। ठेकेदार कम्पनी ईटालियन को–अपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी सिएमसीले भूकम्प, नाकाबन्दी लगायतका कारणले काम गर्न नपाएको भन्दै गत जेठमा कामै रोकेर १ अर्ब ६५ करोड क्षतिपूर्ति दाबी गरेको थियो। कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्