Logo

देश बनाउने काम तीन तहका सरकारको हो : अध्यक्ष तिमिल्सिना



सिन्धुपाल्चोक, १७  मङ्सिर : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश विकासका लागि तीन तहका सरकार र राजनीतिकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भन्दै अध्यक्ष तिमिल्सिनाले तीन तहका सरकार र राजनीतिकर्मीको अगुवाइमा सबै मिलेर समृद्ध राष्ट्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । आफ्नो जिम्मेवारीअनुसार काम गरे देश समृद्ध पार्न धेरै समय नलाग्ने उहाँको भनाइ थियो । सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नं ३ कालिकामा भूकम्पले भत्काएको निजी आवास पुनःनिर्माणपछि आज आयोजित घर हस्तान्तरण कार्यक्रममा उहाँले देश निर्माणको अभियान अगाडि बढाउनुपर्छ भन्नुभयो ।

कारितास नेपाल नामक संस्थाले सरकारसँगको समन्वयमा यहाँका स्थानीयको ६५३ घर निर्माण सम्पन्न गरेपछि घर हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले विगतमा राजनीतिक अस्थिरताले विकास गर्न नसकेको भए पनि अहिले राजनीतिक स्थिरतासँगै विकासले गति लिएको बताउनुभयो । उहाँले कतिपय ठाउँमा भूकम्पपीडितले दोस्रो किस्ता लिन नसकिरहेका बेला यहाँ नयाँ घर निर्माण गरी उनीहरु नयाँ घरमा स्थानान्तरण हुनु सुखद भएको भन्दै अन्य क्षेत्रमा पनि यसैगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

घर निर्माण हुन नसकेको विषयमा काठमाडौँ पुगेर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई आवश्यक निर्देशन दिने प्रतिबद्धता जनाउँदै उहाँले भूकम्पपीडितको समस्यामा गम्भीर हुन सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो ।

प्राकृतिक स्रोत साधनको समुचीत प्रयोग गर्न सके नेपालको विकास सम्भव भएको उहाँले उल्लेख गर्नुभयो । ऊर्जा, कृषि, उद्योगधन्दा र कलकारखाना र पर्यटनको विकास गर्नसके नेपाल समृद्ध हुने भनाइ उहाँको थियो ।

उहाँले कामका लागि विदेश होइन विदेशी नेपाल आउने र दातृ राष्ट्रसँग माग्ने होइन उनीहरुलाई दिने वातावरण तयार गर्नुपर्नेमा जोड दिँदै राष्ट्र बनाउन र संविधान कार्यान्वयन गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले भूकम्प पुनःनिर्माणको काममा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्नुभयो ।

सो क्रममा प्रदेशसभा सदस्य सुरेश नेपालले पीडादायी अवस्थाको बीचबाट घर निर्माण हुनु ठूलो सफलता भएको उल्लेख गर्नुहुँदै अबको बाटोे विकास र समृद्धिको रहेको उल्लेख गर्नुभयो । उहाँले चाहना हुने हो भने हामी आफैँले नै देश विकास गर्न सकिने बताउँदै गाउँको विकासका लागि आवश्यक योजना अघि सारेको बताउनुभयो ।(रासस)



प्रतिक्रिया दिनुहोस्