काठमाडौँ, १७ मंसिर । अपाङ्गता भएका व्यक्तिहरुको २७ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा मुल आयोजक समितिद्धारा आज राजधानिमा प्रभातफेरीको आयोजना गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको शशक्तिकरण तथा समावेशिता र सम्मानको सुनिश्चता गरौ भन्ने मुल नाराका साथ शुरु भएको प्रभातफेरीमा महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाको समभागिता रहेको थियो । मन्त्री थापाले अपाङ्गताबारे भएका ऐन÷कानूनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकाय नै सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ ।
अपाङ्गता भएका व्यक्तिको २७औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालद्वारा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री थापाले राज्यका रहेक संरचनामा अपाङ्गताको समान सहभागिताका लागि नीतिगत व्यवस्था गर्न आफूले सक्दो पहल गरिरहेको बताउनुभयो ।
महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गतामैत्री भौतिक संरचनाका लागि सरकारले नै कडा नीति बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो । पछिल्लो समयमा प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, काठमाडौँ जिल्ला अदालतलगायतका सरकारी भौतिक संरचनाहरु केही हदसम्म अपाङ्गतामैत्री बनाइएको छ ।
त्यसैगरी चन्द्रागिरि हिल्स प्रालि, सिटिसी मल सुन्धारा, ग्राण्डी अस्पताल टोखा, लाबिम मल पुल्चोक र आदर्श सउला युवक मावि, नाङ्लो बेकरी क्याफे नयाँ बानेश्वर, नाङ्लो बेकरी धरहरालगायत केही होटल तथा क्याफेहरूले पनि अपाङ्गतामैत्री संरचना निर्माण गरेका छन् ।
यो वर्षको दिवसको नारा ‘अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण तथा समावेशी र समानताको सुनिश्चितता’ भन्ने रहेको छ । कार्यक्रम शुरु हुनुअघि कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणबाट पदयात्रा शुरु भएको थियो । कमलादीबाट शुरु भएको पदयात्रा घण्टाघर, जमल हुँदै लैनचौरस्थित समाज कल्याण परिषद्को प्राङ्गणमा पुगी कोणसभामा परिणत भएको थियो ।
पदयात्रामा सहभागी अपाङ्गता भएका व्यक्तिले ‘साङ्केतिक भाषा, दोभाषेको उत्पादन र परिचालनमा लगानी गर’, ‘मलाई गणना गर, समावेश गर’, ‘अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण र समावेशीता तथा समानताको सुनिश्चितता’, ‘मनो–सामाजिक अपाङ्गता व्यक्तिको दोष नभई गलत सामाजिक अवधारणा र भेद्भावको उपज हो’ र ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनको कार्यान्वयन गर’ लगायतका प्ले–कार्ड बोकेका थिए ।
नेपालको पछिल्लो जनगणनाअनुसार अपाङ्गता भएका व्यक्तिको हिस्सा कूल जनसङ्ख्याको एक दशमलब ९४ प्रतिशत अर्थात् पाँच लाख १३ हजार ३२१ रहेका छन् । यसमा शारीरिक अपाङ्गता भएका व्यक्ति ३६ दशमलब ६ प्रतिशत, दृष्टिविहीन १६ दशमलब ५ प्रतिशत र सुन्नमा समस्या भएका १५ दशमलब ४ प्रतिशत छन् । बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति ११ दशमलब ५, श्रवण दृष्टिविहीनसम्बन्धी १ दशमलब ८, मानसिक अपाङ्गता ६, बौद्धिक अपाङ्गता २ दशमलब ९ र बहुअपाङ्गता भएका ७ दशमलब ५ प्रतिशत छन् ।