Logo

पूँजी र प्रविधि भित्र्याउन गैरआवासीय नेपालीलाई आग्रह



काठमाडौँ,१७ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल शान्ति र समृद्धिको यात्रामा रहेकाले देशभित्र र बाहिर रहेका नेपालीले हरतरहले सहयोग गर्नुपर्ने बताएकि छन। पोल्याण्डको वार्सामा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मातृभूमिको विकासका लागि पूँजी र प्रविधि भित्र्याउन गैरआवासीय नेपालीलाई आग्रह गरेको जानकारी प्राप्त भएको छ ।

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुनुअघि आफ्नो स्वागत तथा सम्मानमा गैरआवासीय नेपाली सङ्घ पोल्याण्ड र नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्धलाई जनस्तरमा पु¥याउनुपर्नेमा जोड दिईन ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले परिवर्तित सन्दर्भमा नेपाललाई मनन गरी सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने जनाए । राजदूत रमेशप्रसाद खनालले नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्धलाई थप उचाइ दिनुपर्नेमा जोड दिए । गैरआवासीय नेपाली सङ्घ पोल्याण्डका अध्यक्ष डा बुद्धिराज सुवेदीले दुई देशबीचको सम्बन्ध विस्तार गरी आपसी सहयोग आदानप्रदान गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा पोल्याण्डमा पहिलो पुस्ताका नेपाली प्रतिनिधि दुर्गा मास्केलगायत सयौंँको सहभागिता थियो । कार्यक्रममा नेपाली साँस्कृतिक झलक प्रस्तुत गरिएको थियो । पोल्याण्डमा विभिन्न पेशा–व्यवसाय गरी करीब नौ हजार नेपाली रहेको गैरआवासीय सङ्घका प्रतिनिधिले जानकारी दिएका छन् । तीमध्ये धेरै कम्पनी, केही भान्सा र बाँकी विभिन्न काममा छन् । रासस



प्रतिक्रिया दिनुहोस्