काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा भियारियाललाई २–० ले हराउँदै बार्सिलोनाले अंक तालिकामा अग्रता लिएको हो ।
आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन जेरार्ड पिके र कार्लेस एलिनाले एक–एक गोल गरे । ला लिगामा गएराति सेभिया भने डेपोर्टिभो आलाभेजसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
यसैगरी रियाल बेटिसले रियाल सोसिडाडलाई १–० ले हराउँदा एथ्लेटिको मड्रिडले जिरोनासँग १–१ गोलको बराबरी खेलेको छ । गएरातिका खेलपछि स्पेनिस ला लिगाको अंक तालिकामा १४ खेलबाट २८ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ ।
२७ अंकका साथ सेभिया दोस्रो स्थानमा झर्दा तेस्रो स्थानको एथ्लेटिको मड्रिडको २५ अंक छ । २४ अंकको आलाभेज चौथो स्थानमा रहँदा २३ अंकसहित रियाल मड्रिड पाँचौ स्थानमा उक्लिएको छ । एजेन्सीको सहयोगमा