हेटौँडा, १९ मङ्सिर । विकास उद्यमीको ‘नेपाल इन डाटा अभियान’ले प्रदेश नं ३ को राजधानी हेटौँडामा आयोजना गरेको ‘तथ्याङ्कमा आधारित पत्रकारिता’ तालीम मङ्गलबार सम्पन्न भएको छ । उक्त तालीममा प्रदेश नं २ र प्रदेश नं ३ का राष्ट्रिय तथा स्थानीय दैनिक पत्रिकामा कार्यरत २० पत्रकारको सहभागिता रहेको थियो ।
सहभागी पत्रकारलाई सन्तोष गड्तौला, तथ्याङ्कशास्त्री एवं सहप्राध्यापक शोभानानी शाक्य र श्रीधर खनालले तथ्याङ्कलाई पत्रकारितामा प्रयोग गर्नेबारे प्रशिक्षण दिनुभएको थियो । प्रदेश नं ३ को आर्थिक मामिला तथा योजना मन्त्रालय र नेपाल आर्थिक पत्रकार समाज सेजोनको सहकार्यमा सो तालीमको आयोजना गरिएको हो ।
समाचार र लेखको माध्यमबाट स्वास्थ्य, शिक्षा, अर्थव्यवस्था, वित्त, गरिबी, विकासलगायत विषयमा सूचना संप्रेषण गर्दा तथ्याङ्कमा आधारित भएर गर्न पत्रकारलाई अभिप्रेरित गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको विकास उद्यमीका प्रमुख कार्यकारी अधिकृत सन्तोष गड्तौलाले जानकारी दिनुुभयो ।
तथ्याङ्क र पत्रकारितालाई एकीकृत गरी प्रभावकारी र स्पष्ट सूचना नागरिकसम्म पु¥याउन तालीम सहयोगी भएको उहाँको भनाइ थियो । कार्यक्रमको उद्घाटन प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले गर्नुभएको थियो ।
नेपाल इन डाटाले यसअघि रामेछाप, चितवन, भोजपुर, डडेल्धुरालगायत जिल्लामा स्थानीय युवा, विद्यार्थी, सरोकारवाला पक्ष, र सरकारी निकायलाई तथ्याङ्क साक्षरता र त्यसको प्रयोगका विषयमा कार्यशाला सञ्चालन गरेको थियो । रासस