Logo

जनप्रतिनिधिद्वारा पारिश्रमिकबाट विद्यालयलाई सहयोग



काठमाडौँ,१९ मंसिर । म्याग्दीका एक जनप्रतिनिधिले आफूले पाएको तलब दुर्गम गाउँको विद्यालयलाई सहयोग गरेको खवरले चर्चा पाएको छ ।

मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले वडा नं ५ अर्मनको सिर्कुममा रहेको किसानी आधारभूत विद्यालयलाई सहयोग गरेको जानकारीमा आएको छ। विद्यालयमा मङ्गलबार आयोजित समारोहमा अध्यक्ष रोकाले रु तीन लाख ५० हजारको चेक हस्तान्तरण गरेका थिए ।

अध्यक्ष रोकाले उपलब्ध गराएको रकम भवन निर्माणका लागि १५ आना जग्गा खरिद गर्दा लागेको ऋण तिरिने प्रअ रेशम सापकोटा बताउन्छन । जग्गा किन्दा लागेको ऋण तिर्न नसकेर समस्यामा परेका सिर्कुमवासीलाई सहयोगले राहत मिलेको प्रअ सापकोटाले बताए ।

“चुनावमा सिर्कुमवासीसँग व्यक्त गरेको प्रतिबद्धता कार्यान्वयन गरेको हुँ”, अध्यक्ष रोकाले भने । उनले आगामी दिनमा पनि तलबबापत प्राप्त हुने सुविधा समस्यामा परेका सामुदायिक विद्यालयलाई सहयोग गर्ने घोषणा गरेको बताए।

शिक्षा विकास तथा समन्वय एकाइको रु १६ लाख अनुदानमा निर्माण भएको दुईकोठे भवनको उद्घाटनका अवसरमा गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले अध्यक्ष रोकालाई सम्मान गरेको जानकारी गराए।

मन्त्री पुनले दुर्गम र ग्रामीण क्षेत्रमा आवासीय विद्यालय सञ्चालन गर्न लागिएको जानकारी दिईन । उनले निजी स्रोतबाट सञ्चालित सामुदायिक विद्यालयको समस्या समाधानका लागि दरबन्दी मिलानको प्रक्रिया अघि बढाएको जानकारी गराएकि छन । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot