Logo

सत्तारुढ दलकै नेतामा असन्तुष्टीः नेता सिंह



काठमाडौँ,२१ मंसिर । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारको कार्यशैलीबाट सत्तारुढ दलका नेतामा समेत असन्तुष्टी बढ्दै गएको बताएका छन ।

काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ८ का क्षेत्रीय सभापति एवं लोकतान्त्रिक नेवा खलः का केन्द्रीय कोषाध्यक्ष जुद्धरत्न बज्राचार्यको प्रथम वार्षिक स्मृतिसभाका अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले गरेको काममा सत्तारुढ दलका नेतामा समेत असन्तुष्टी बढेको जानकारी गराए ।

“सरकार धेरै कुरा गर्ने काम कम गर्ने बाटोमा अगाडि बढेको छ, काम गर्न नसकेर सरकारले वुद्धिजीवीहरूलाई समेत धम्काउने काम गरेको छ” उनले भने। नेता सिंहका अनुसार सरकार जस्तो छ, संसद्मा प्रतिपक्षी पार्टी नेपाली काङ्ग्रेस पनि त्यस्तै भएका कारण मुलुकले विकासको गति लिन नसकेको हो ।

“प्रतिपक्षको उचित भूमिका निर्वाह गर्न सङ्गठित हुनु जरुरी छ,”उनले बताए । सिंहले काठमाडौँ काङ्ग्रेसलाई बलियो बनाउन सबैको जिम्मेवारी रहेको भएको स्मरण गराए । स्वर्गीय बज्राचार्य पार्टीका लागि कुशल सङ्गठक भएको उनको भनाई रहेको थियो ।

काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय बज्राचार्यको महत्वपूर्ण भूमिका रहेको बतातएका थिए । “बज्राचार्यले दुईपटक वडाअध्यक्ष भएर काठमाडौँको विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो, बज्राचार्यको कार्यशैलीबाट काङ्ग्रेसले पाठ सिक्नुपर्छ,”उनले सुनाए ।

काठमाडौँ काङ्ग्रेस सभापति सबुज बानियाँले काठमाडौँको काङ्ग्रेसको सङ्गठन निर्माणमा स्वर्गीय बज्राचार्यको महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । रासस



प्रतिक्रिया दिनुहोस्