Logo

इङ्लिस प्रिमियर लिग : म्यान्चेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम



काठमाडौं, २३ मंसिर। इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई २–० ले हरायो । खेलमा चेल्सीलाई विजयी गराउन एन्गोलो कान्ते र डेभिड लुईजले एक एक गोल गरे ।

हारसँगै म्यान्चेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम लागेको छ । प्रिमियर लिग फुटबलको जारी सिजनमा अब लिभरपुल मात्रै अपराजित टोली रहेको छ ।

गएराति भएको खेलमा बर्नमाउथलाई ४–० ले हराएको लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बर्नमाउथ विरुद्धको खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाहले ह्याट्रिक गर्दा बर्नमाउथका स्टीभ कुकले एक आत्माघाति गोल गरे ।

प्रिमियर लिग फुटबलकै अन्य खेलमा आर्सनलले हडर्सफिल्ड टाउनलाई १–० ले हराउँदा म्यान्चेस्टर युनाईटेडले फुल्हमलाई ४–१ ले तथा टोटनह्याम हट्सपरले लेष्टर सिटीलाई २–० ले हराए ।

वेष्ट ह्याम युनाईटेडले क्रिष्टल प्यालेसमाथि ३–२ को जित निकाल्दा बर्न्लेले ब्राईटनलाई तथा कार्डिफ सिटीले साउथह्याम्पटनलाई १–० ले हराएका छन् ।

गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा १६ खेलबाट ४२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ४१ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा झर्दा तेस्रो स्थानको टोटनह्याम हट्सपरको ३६ अंक छ ।

३४ अंकसहित चेल्सी चौथो स्थानमा रहँदा समान ३४ अंक नै जोडेको आर्सनल पाँचौ स्थानमा छ । २६ अंकसहित म्यान्चेस्टर युनाईटेड छैटौं स्थानमा उक्लिएको छ । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्

Screenshot