Logo

इन्डोनेसियाः बाढीका कारण चारको मृत्यु, २०० विस्थापित



काठमाडौँ,२३ मंसिर । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा आएको बाढी पहिरोका कारण चार जनाको मृत्यु भएको छ ।बाढी पहिरोले अरु दुईसय ३६ जनाभन्दा बढी गाउँलेहरु विस्थापित भएको अधिकारीहरुले आइतबार जनाएका छन् ।

प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले बाढी पहिरोका कारण कैयौं घरहरु बगाएको वा भत्किएको पनि जानकारी दिएका छन् ।एक अधिकारीले बताए अनुसार “अहिलेसम्म कम्तीमा चार जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।”

घटनास्थलमा उद्धार तथा खोजी कार्य भइरहेको समाचारमा जनाइएको छ । बाढी र पहिरोबाट प्रभावितहरुलाई घटनास्थलबाट विभिन्न ठाउँमा स्थानान्तरण गरिएको र अस्थायी बसोबासको व्यवस्था गर्न लागिएको छ ।

इन्डोनेसियामा हरेक वर्ष अत्यधिक वर्षासँगै बाढी र पहिरो आउने गरेको छ । बाढी पहिरोका कारण इन्डोनेसियामा प्रत्येक वर्ष हजारौँको ज्यान जाने गरेको छ भने त्योभन्दा धेरै विस्थापित हुने गरेका छन् ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्